थप समाचार बुधबार, साउन ७, २०७७

सूचीकृत गर्न अनधिकृत रकम उठाएको भन्दै 'हाम्रो पात्रो' को ध्यानाकर्षण

हिमालखबर

सूचीकृत गर्न अनधिकृत रकम उठाएको भन्दै 'हाम्रो पात्रो' को ध्यानाकर्षण

अनलाइन समाचार पोर्टल सूचीकृत गरिदिने प्रलोभनमा विभिन्न सञ्चारगृहसँग अनधिकृत रकम उठाएको भन्दै ‘हाम्रो पात्रो’ ले ध्यानाकर्षण भएको जनाएको छ।

हाम्रो पात्रोले विभिन्न सञ्चारगृह र अनलाइन सञ्चारगृहसँग हाम्रो पात्रोमा दर्ता गराइदिने भन्दै रकम उठाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

"कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन। शुल्क सहितको मिडिया सूचीकरणको अभ्यास हामीले गर्ने गरेका छैनौं," ध्यानाकर्षण पत्रमा लेखिएको छ, "मिडियासम्बन्धी छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन।"

ध्यानाकर्षण पत्रमा थप भनिएको छ, "यदि तपाईंलाई ‘म/हामी हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु’ भनी कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस्। हाम्रो नाममा कुनैपनि किसिमका अनधिकृत नगदको लेनलेन गरेर पर्ने आर्थिक तथा व्यावसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन ।"

त्यस्तै हाम्रा पात्रोले मिडियामा सहकार्यमा गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनिदेनी नभएको र तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचीबद्ध गर्ने कार्य पनि बन्द गरिएको जनाएको छ।

हाम्रो पात्रोको नाममा कसैसँग आर्थिक लेनदेन मार्फत अनलाइन मिडिया दर्ताका लागि कसैसँग कारोबार गर्नु नितान्त ठगी भएको भन्दै यस्ता कारोबारमा संलग्न हुनेसँग अमेरिकास्थित हाम्रो पात्रो जिम्मेवार नहुने बताएको छ।

साथै बुद्धनगर-१०, काठमाडाैंमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” र अमेरिकामा मुख्य कार्यालय "हाम्रो पात्रो इंक." बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय (सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको समेत जानकारी गराएको छ।

बजार सम्बन्धका विषयमा जानकारी वा कारोवार गर्नका लागि प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई सम्पर्क गर्न पनि हाम्रो पात्रोले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस