थप समाचार बुधबार, साउन ७, २०७७

पूर्व सांसद बर्मन बुढाको निधन

हिमालखबर

पूर्व सांसद बर्मन बुढाको निधन

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्व सांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ।

बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन्। उनलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौंमा बसेर उपचार गराइरहेका थिए।

केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको थियो। बुढा २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ। लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए।

यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहेका थिए। बुढा दुई वर्षअघि राष्ट्रपतिबाट विभूषित भएका थिए।

प्रतिकृया दिनुहोस