समाचार मंगलबार, साउन ६, २०७७

आन्तरिक वायुसेवाकाे उडान तयारी : ५० प्रतिशतले तालिका कटौती हुने

हिमालखबर

आन्तरिक वायुसेवाकाे उडान तयारी : ५० प्रतिशतले तालिका कटौती हुने

सरकारले हवाई सेवा खुला गर्ने निर्णय गरेपछि भीडभाड कम गर्न, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न लाग्ने समय तथा आर्थिक क्षेत्रमा परेको प्रभावले यात्रु नै कम हुने अनुमानका आधारमा प्रति घण्टा ५० प्रतिशतले तालिका कम गरेर वायुसेवा कम्पनीहरूले हवाई उडान गर्ने भएका छन्।

कोरोनाभाइरस (कोभिड–१९)को जोखिम न्यूनीकरण गर्न ११ चैतदेखि जारी बन्दाबन्दीका कारण ठप्प हवाई उडान करीब ५ महीनापछि खुलाइने भएको छ।

सरकारले सोमबार (५ साउन) गरेको निर्णय अनुसार १ भदौ २०७७ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने भएको हाे।

सरकारले उडान खुला गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि उडान तयारी गर्ने र आवश्यक सुरक्षा मापदण्ड बनाएर जहाज उडाउने भएका छन्।

उडान खुला गर्ने निर्णय गरिएको भएपनि कोभिडको जोखिम भएकाले सामाजिक दूरी कायम राख्ने, आवश्यक सुरक्षा मापदण्ड पालना गर्ने तथा स्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) पालना गरेर सामान्य अवस्थाको तुलनामा ५० प्रतिशतसम्म उडान तालिका कटौती हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने ‘‘अब खुल्ने उडानमा प्रतिघण्टा ४ देखि ५ वटासम्म मात्रै उडान हुन सक्छ। यस अघि सामान्य अवस्थामा प्रतिघण्टा १३–१४ वटासम्म उडान हुने गरेको थियो।’’ क्षेत्रीले भने ‘‘सम्बन्धित वायुसेवासँग आवश्यक परामर्श गरेर उडान तालिका स्वीकृत गरिने भएकोले समग्रमा ५० प्रतिशतसम्मले यस्तो तालिका कटौती हुनसक्छ।’’

क्षेत्रीले अबको उडान तयारी र आवश्यक सुरक्षा मापदण्ड पालनासहितका विषयमा बुधबार र बिहीबार (७ र ८ साउनमा) सम्बन्धित वायुसेवा कम्पनीलाई आवश्यक छलफलका निम्ति बोलाएको बताए। सोही छलफलपछि आवश्यक निर्देशिका पालना गर्न लगाउने र उडान तालिकाको टुंगो लगाइने पनि उल्लेख छ। क्षेत्रीका अनुसार अब हुने उडानमा अकुपेन्सी (जहाज भराइदर) पूर्ण क्षमतामा नै गर्न पाइने भएपनि यात्रु आवागमन कम गराएर भीडभाड पनि कम गराउन उडान तालिका भने कटौती हुने छ।

सरकारले उडान खुलाउने भनेपछि सबै वायुसेवा कम्पनी तयारी अवस्थामा बसिसकेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। उनले भने ‘‘सबै वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र सरकारको नीति नियमभित्रै रहेर उडान गर्न तयारी अवस्थामा छन्।’’ नियामक निकायले कसरी गर्ने र के कति उडान स्वीकृति गर्ने भन्ने विषयमा आवश्यक छलफलको तयारी पनि भएको छ। सो अनुसार उडान तालिका स्वीकृत गरेर सबै वायुसेवाले बुकिङ खुला गर्ने जानकारी पनि कँडेलले दिए।

आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले भने सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर प्रतिघण्टा चार वटासम्म उडान गर्न दिने अनुमान गर्दै बुकिङ खुला गरेको छ। बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले भने ‘‘सामान्य अवस्थामा प्रतिघण्टा ८ वटासम्म उडान हुने गरेको थियो सोही आधारमा ५० प्रतिशत तालिका घटाएर उडान गर्ने गरी बुकिङ खुला गरिएको हो।’’

जोशीले भने नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने निर्देशन अनुसार प्रतिघण्टा ४ वटा भन्दा कम वा बढीको स्वीकृति दिएमा सो अनुसार तलमाथि गर्न मिल्छ। सामान्य समयमा प्रतिघण्टा ३ देखि ३५० जनासम्म उडान हुने गरेकाले अब प्रतिघण्टा ११० देखि १२० जनासम्म मात्रैको उडान हुने अनुमानका आधारमा उडान तयारी र आवश्यक बुकिङ लिन थालेको जोशी बताउँछन्।

कोभिडको जोखिम कायमै रहेकाले सुरक्षित हुनुपर्ने र आर्थिक क्षेत्रमा परेको प्रभावका कारण यात्रु आवागमन पनि कम हुने हुँदा वायुसेवालाई यात्रु नपाइने चिन्ता समेत छ। वायुसेवा कम्पनीले भने यात्रु भएपनि नभएपछि अब नियमित उडान खुला गर्दै जनजीवन सामान्य बनाउने तथा रोगभन्दा भोकसँग लड्नुपर्ने अवस्था सिर्जना भएकाले भन्दै उडान खुलाउन माग गर्दै आएको थियो।

प्राधिकरणले पनि धेरैवटा जहाज हुनेलाई प्रतिघण्टा उडानको तालिका बढी र कम हुनेलाई थोरै दिने उल्लेख गरेको छ। बुद्ध एयरसँग हाल १३ वटा वायुयान रहेको छ। हाल नियमित उडानका १० वटा वायुसेवा कम्पनी छन् भने हेलिकप्टर कम्पनी पनि १० वटै छन्। यी वायुसेवासँग ६० वटा जहाज नियमित उडानका जहाज र ३३ वटा हेलिकप्टर रहेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस