रिपोर्ट बुधबार, साउन ७, २०७७

डोजरले निम्त्याएको विपत्ति

हिमालखबर

डोजरले निम्त्याएको विपत्ति
साँफे–मार्तडी सडकको मार्तडी बजार नजिकै पहिरोले क्षति पु¥याएको सडक । तस्वीरहरुः प्रकाश सिंह

सडक बनाएर विकास गर्न गाउँगाउँमा जथाभावी डोजर चलाइएपछि गएको पहिरोले बाजुरामा विनाश निम्तिएको छ।

– प्रकाश सिंह (हिमाल आर्काइभबाट)

सडक बनाउन डोजरले कोतरेको भीर र भारी वर्षाका कारण बाजुराका सयौं परिवार विस्थापित भएका छन्, कैयौं घर पहिरोले पुरिसकेको छ। जिल्लाको अधिकांश भाग पहिरोको जोखिममा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल बताउँछन्। “लगातारको वर्षासँगै झरेको पहिरोले सयौं परिवार विस्थापित भएका छन्, उनीहरूको व्यवस्थापनका लागि पहल भइरहेको छ”, मल्ल भन्छन्। 

१० साउनको ठूलो झरेपछि खप्तड छेडेदह गाउँपालिका–७ गुम्ला गाउँका ४२ परिवारले पहिरोकै त्रासमा घर छाडेका छन्। वडा नम्बर ६ नाइनाका २२ परिवार पनि राति घरमा सुत्दैनन्। प्रहरीका अनुसार गौमुल गाउँपालिका–६ शान्तिटोलका ६ परिवार घर भत्किएपछि विस्थापित भएका छन्। गाउँको चारैतिरबाट पहिरो खसिरहेको छ।

बडिमालिका नगरपालिका–९ उखाडीका करीब २० परिवार रहेको सिंगो बस्ती पहिरोको उच्च जोखिममा छ। बडिमालिका–८ मार्तडीका दुई वटा घर पहिरोले भत्काएको छ, थप ८ घर जोखिममा छन्। त्रिवेणी नगरपालिकाको मालाकोटमा एउटा घर भत्किएको छ भने ७ वटा घर जोखिममा छन्।

अहिले बाजुराको सम्पूर्ण जनजीवन अस्तव्यस्त बनेको जिल्ला प्रहरी प्रमुख सागर बोहोरा बताउँछन्। पहिरोकै कारण घर, सडक, सिंचाइ कुलो भत्किएको प्रहरीले जनाएको छ। बस्तुभाउको चरिचरनमा समस्या आएको छ, घाँसपात गर्न समेत मुश्किल छ। जिल्लाका सरकारी कार्यालय रहेका पुराना घर भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायव उपरीक्षक बोहोरा बताउछँन्।

डोजरले जथाभावी खनेर सडक बनाएकै कारण आफ्नो गाउँ जोखिममा परेको मार्तडीका स्थानीय भनमल विकको आरोप छ। डोजर चलाइएका सडक छेउछाउ नै सबैभन्दा बढी पहिरो गइरहेको छ। जोखिमको पूर्वानुमान नगरिकनै डोजर चलाएर बनाइएका यस्ता सडक त जोगिएनन्, छेउका बस्ती पनि उजाड बन्दैछन्।

डोजर आकर्षण
गाउँको माथिमाथि भीरमा डोजरले खनेर सडक बनाएपछि बडिमालिका नगरपालिका–१ मैमातोलाको सिंगो बस्ती पहिरोको जोखिममा छ। गएको पुसमा घर माथिको भिरालो जमीनमा डोजरले खन्दै गर्दा स्थानीयले विरोध गरेका थिए तर, विकासमा अवरोध गरेको भन्दै उनीहरूको सरोकारलाई बेवास्ता गरिंदा अहिले मैमातोलाका १० परिवारको उठिबास भएको छ। यी १० परिवार पानी पर्न थाल्यो भने गाउँबाट तल झरेर फाँटमा पाल टाँगेर बस्ने गर्छन्।

“हिउँदमा डोजर चलाउँदा अब गाउँमा विकास आयो भने, अहिले त्यही सडक हाम्रा लागि विनाश भएको छ”, स्थानीय नरी बिष्ट भन्छन्। उनको २० मुरी धान फल्ने खेत पहिरोले पुरिसकेको छ। गौमुल गाउँपालिकालाई सदरमुकाम मार्तडीसँग जोड्ने यो सडक निर्माणपछि गाउँका करीब १४ किसानको खेतबारी पहिरोले निलेको छ।

तीन वटा बस्ती कुनै पनि बेला पहिरोले बगाउन सक्ने जोखिममा छन्। परिवार पाल्ने खेत सबै बगाएपछि मैमातोलावासी के खाऊँ के लाऊँको अवस्थामा पुगेका छन्।

मैमातोला जस्तै बाजुराका दर्जनौं बस्तीलाई ‘डोजर लीला’ ले पहिरोको उच्च जोखिममा पुर्‍याएको छ। स्थानीय सरकारले सडक निर्माण भन्दै जथाभावी डोजर चलाउँदा बस्ती र खेतीयोग्य जमीन नष्ट भएको स्थानीय बताउँछन्।

छेडेदह गाउँपालिका–२ का सुरत थापा भन्छन्, “योजनाकार, प्राविधिक सबैको काम डोजर चालकले नै गर्छन्, अनि पहिरो किन नजाओस् !” छेडेदहकै वडा नम्बर ५ डोगडी गाउँ माथि डोजरले सडक बनाएपछि अहिले पहिरो खसिरहेको र करीब १०० घर जोखिममा रहेको उनले सुनाए। बूढीनन्दा नगरपालिका–९ का धर्म बोहोरा पनि जथाभावी डोजर चलाउँदा विनाश निम्तिएको बताउँछन्।

आर्थिक वर्ष २०७४/७५ मा बाजुराका ९ वटा स्थानीय सरकारले सडक निर्माणका लागि करीब रु.२२ करोड बजेट छुट्याएका थिए। जिल्ला प्राविधिक कार्यालय बाजुराका अनुसार ती सबै सडक डोजर चलाएर बनाइएकोे हो। “स्थानीयलाई खन्न लगाएको भए रोजगारी पनि हुन्थ्यो, सडक पनि राम्रो बन्थ्यो” बडिमालिका नगरपालिकाका लक्षि विक भन्छन्, “डोजर मेशीनले विकास ल्याउँछ भन्थे, विनाश मात्रै भयो।”

गएको आर्थिक वर्षमा जिल्लामा ४८ वटा सडक निर्माण भएका छन्। जिल्ला वन कार्यालय बाजुराका प्रमुख दानबहादुर श्रेष्ठका अनुसार यी सबै सडक बनाउनुअघि वातावरणीय प्रभाव मूल्यांकन गरिएन। अधिकांश सडक निर्माण गर्दा वन फडानी समेत भएको उनी बताउँछन्। भन्छन्, “जताजता वन छ, उतैउतै डोजर चलाएका छन्। भिरालो जमीनका रूख जथाभावी काटेर बस्ती माथि डोजर चलाएकाले पहिरो गइरहेको छ।” स्थानीय सरकारले विकास गर्दा विवेक पु्‍र्‍याउन नसकेको स्थानीयको गुनासो छ।

जोखिममा अस्पताल
१० साउनको भारी वर्षासँगै आएको पहिरोले जिल्ला अस्पताल बाजुराको एककोठे नयाँ भवन भत्काएको छ। अस्पतालका अन्य भवन समेत जोखिममा छन्। अस्पताल मुनिको कमजोर भूभागमा डोजर चलाएर सडक बनाएका कारण पानी पर्ने वित्तिकै पहिरो जान शुरू हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रूपचन्द्र विश्वकर्मा बताउँछन्। उनका अनुसार अस्पताल माथिको भिरालो जमीन पनि भत्किन शुरू भएको छ।

अस्पतालको चारैतिरबाट पहिरो खस्न थालेकोले ढुक्क भएर काम गर्न नसकिएको वरिष्ठ अहेव रामचन्द्र यादव बताउँछन्। पहिरोले आकस्मिक सेवा सञ्चालनमा समेत बाधा पुगेको छ। साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडक निर्माणका क्रममा पहिरोको जोखिमलाई बेवास्ता गरिएकाले अहिले विपत्ति निम्तिएको स्थानीय बलबहादुर रोकाया बताउँछन्। उनी भन्छन्, “डोजरले जथाभावी खनियो, अहिले अस्पताल नै पहिरोले निल्ने अवस्थामा छ।”

हिमाली गाउँपालिका–३ गुम्बा गाउँ पुग्नका लागि हिउँदमा बनाइएको बाटो । यो बाटो अहिले नदी र पहिरोले बगाइसकेको छ ।

हराएको गाउँ
हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँमा आवतजावत गर्ने बाटो पहिरोले र नदी तर्न बनाइएका काठेपुल बाढीले बगाउँदा यो गाउँको खबर बाँकी दुनियाँलाई थाहा छैन। गाउँमा सञ्चार सेवाको पहुँच पनि छैन।

सदरमुकाम मार्तडीबाट पाँच दिन पैदल दूरीमा रहेको साविकको बिच्छयाँ गाविसमा पर्ने गुम्बा जान–आउन सरकारले सडक–पुल केही नबनाउँदा वर्षायाममा सधैं सम्पर्कविहीन हुने गरेको स्थानीय छिरिङ धोर्चे लामा बताउँछन्। कोल्टीमा दैनिक उपभोग्य सामान लिन आएका उनी यतै रोकिएका छन्। भन्छन्, “भदौ अन्तिमसम्म बाटो खुल्छ कि, त्यसपछि जानुपर्ला।”

२५ परिवारको बसोबास रहेको यो गाउँमा के भइरहेको छ, त्यहाँका बासिन्दाको अवस्था के छ भन्ने सूचना अरुलाई थाहा नहुने र बाँकी दुनियाँको खबर उनीहरूलाई थाहा नहुने वडा सचिव गौरीकान्त सञ्जाल बताउँछन्।

हिउँद याममा समेत जोखिमपूर्ण अस्थायी काठेपुलबाट दुई ठूला नदी तरेर सदरमुकाम आउनुपर्ने गुम्बावासीले बर्खाभर उपचार सेवा पाउँदैनन्। बालबालिका र गर्भवती महिला खोप र औषधि सुविधाबाट वञ्चित छन्।

“भीरको बाटो पहिरोले बगायो, कवाडी नदी छेउको बाटो नदीले लग्यो”, बिच्छयाँका अगुवा अम्मलाल बुडथापा भन्छन्। गाउँपरिषद्‌मा सहभागी हुन हिमाली–५ धुलाचौरमा रहेको गाउँपालिकाको कार्यालय आएका गुम्बाका वडा सदस्य जगत लामा पनि गाउँ फर्कन सकेका छैनन्। “फुलीगुम्बा नजिकै भीरमा हिउँदमा पनि काठ राखेर वारपार गर्नुपर्छ, अहिले त घर जान सक्ने अवस्था छैन” लामा भन्छन्, “बाटो खुल्यो भने असोजसम्म फर्किन्छु होला।”

निकै दुर्गममा बस्ने आफूहरू सबैको हेपाइमा परेको लामाको गुनासो छ। धुलाचौरमा भेटिएका वडा सचिव सञ्जाल पनि अहिलेसम्म गुम्बा गाउँ पुगेका छैनन्। “धेरै टाढा छ, स्थानीयलाई त आवतजावतमा समस्या छ म कसरी जानु”, उनी भन्छन्।

(२७ साउन -२ भदौ २०७५ काे हिमाल खबरपत्रिकाबाट )

प्रतिकृया दिनुहोस