थप समाचार मंगलबार, साउन ६, २०७७

लामो दूरीको यातायात पनि चलाउन व्यवसायीको माग

हिमालखबर

लामो दूरीको यातायात पनि चलाउन व्यवसायीको माग

बिहीबार देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ। सरकारले २६ असारदेखि यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

तर, व्यवसायीहरुले यातायात सञ्चालन ल्याउन मानेका थिएनन्। सोमबार यातायात व्यवसायीका संस्थाहरु, महानगरीय ट्राफिक र यातायात व्यवस्था विभाग बीच सहमति भएपछि बिहीबार देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका हुन्।

छलफलले यातायात श्रमिकहरुको कोरोना बीमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा–आधा तिर्ने, कोही श्रमिकको मृत्यु भए तिनका परिवारलाई क्षतिपूर्तिका लागि सरकारले कोष स्थापना गर्ने सहमति गरेको छ। सहमतिअनुसार, सावधानीका लागि आवश्यक सामग्री व्यवसायीहरुले नै उपलब्ध गराउनेछन्।

“बिहीबार देखि सबै सार्वजनिक यातायात सञ्चालनमा ल्याउँछौं। त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछौं”, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले भने। उनका अनुसार, दिउँसो २ बजे पत्रकार सम्मेलन गरी यातायात सञ्चालनबारे थप जानकारी दिइनेछ।

महामारी रोकथामका लागि गएको ११ चैत देखि सरकारले बन्दाबन्दी गरेपछि सार्वजनिक यातायात बन्द छ। केही दिन यता सानो संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आएको छ। अब भने सबै सार्वजनिक यातायात सञ्चालनमा आउने राईले बताए। जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात सञ्चालन हुनेछ।

“हामीले सतर्कता अपनाएर लामो दूरीको यातायात चलाउन माग गरेका छौं” राईले भने, “यसबारे सीसीएमसीमा छलफल लैजाने सहमति भएको छ।” अहिले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउने सरकारले निर्णय गरेको छ। 

प्रतिकृया दिनुहोस