वेष्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा इङ्ल्याण्ड ११३ रनले विजयी
महामारीपछि भइरहेको पहिलो अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वेष्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा इङ्ल्याण्ड ११३ रनले विजयी भएको छ। योसँगै तीन खेलको श्रृङ्खला एक एकको बराबरीमा पुगेको छ।
अन्तिम दिन ३१२ रनको लक्ष पछ्याएको वेष्ट इन्डिजले १९८ रन मात्र बनाउन सक्यो। दोस्रो पालीमा वेष्ट इन्डिजको शुरुआत राम्रो भएन। शुरुदेखि नै लगातार विकेट खस्दा ३७-४ को अवस्थामा पुगेको थियो।
जर्मेइन ब्लाकउड र समाराह ब्रुक्सले शतकीय साझेदारी गरेपछि केही सम्हालिएको थियो। तर, दुवैको अर्धशतक हार रोक्न पर्याप्त भएन।
दोस्रो इनिङमा बेन स्टोकले आक्रामाक ब्याटिङ गर्दै ५७ बलमा नटआउट ७८ रन बनाएपछि इङ्ल्याण्डले १२९-३ मा पाली समाप्तीको घोषणा गरेको थियो। वेष्ट इन्डिजलाई जितका लागि ८५ ओभरमा ३१२ रनको जितको लक्ष वा बराबरीको मौका थियो।
शुरुआतमा आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका जेडी क्याम्पबेल एक चौका प्रहार गरेर बाहिरिए। त्यसपछि लगातार विकेट पतन भएको थियो। इङ्ल्याण्डका लागि स्टुआर्ट ब्रोडले तीन विकेट लिए। त्यस्तै क्रिस ओक्स, बेन स्टोक र डोम बेसले दुई दुई विकेट लिए।
पहिलो पालीमा इङ्ल्याण्डले ४६९-९ मा पाली समाप्तीको घोषणा गर्दा वेष्ट इन्डिजले २६९ रन मात्र बनाउन सकेको थियो। इङ्ल्याण्डका डोम सिब्ली र बेन स्टोक्सले शतक बनाएका थिए।