खेलकुद सोमबार, साउन ५, २०७७

चेल्सी एफए कपको फाइनलमा, उपाधि भिडन्त आर्सनलसँग

हिमालखबर

चेल्सी एफए कपको फाइनलमा, उपाधि भिडन्त आर्सनलसँग

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी इंग्ल्याण्डको अर्को ठूलो फुटबल प्रतियोगिता एफए कपको फाइनल पुगेको छ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडको चुनौती ३-१ गोलले पन्छाउँदै चेल्सीले फाइनल यात्रा तय गरेको हो। चेल्सीको जितमा ओलिभियर जिरुड र मेसन माउन्टले एक एक गोल गरे। थप एक गोल युनाइटेडका कप्तान ह्यारी मग्वायरको आत्घाती थियो। युनाइटेडका लागि एकमात्र गोल भने ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत् गरे।

चेल्सीले पहिलो हाफको इन्जुरी समयमा जिरुडको गोलमार्फत् अग्रता लिएको थियो। वेम्ब्ली स्टेडियममा भएको खेलमा जिरुडले कप्तान सिजर अज्पिल क्वेटाको क्रसलाई पोस्टको दिशा दिएका थिए।

दोस्रो हाफ शुरु भएको दोस्रो मिनेटमै मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पारे। युनाइटेडको मिसपासलाई ओभरल्यापमा गएर नियन्त्रणमा लिएका माउन्टले पोस्टको कर्नर च्यापेर गरेको प्रहार युनाइटेडका गोलरक्षक डेबिड डा जियाको गल्तीका कारण गोलमा परिणत भएको थियो।

७४ औं मिनेटमा चेल्सीका मार्कस अलोन्सोको प्रहार गोल लाइन नजिकै क्लियर गर्न खोज्दा युनाइटेडका कप्तान मग्वायरले आत्मघाती गोल गर्न पुग्यो। युनाइटेडका फर्नान्डेसले ८५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

फाइनलमा चेल्सीले अब लन्डनको प्रतिद्वन्द्वी क्लब आर्सनलको सामना गर्नेछ। आर्सनल म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनल पुगेको हो।

प्रतिकृया दिनुहोस