अर्थ/बजार आइतबार, साउन ४, २०७७

मौद्रिक नीतिलाई चेम्बरको स्वागत

हिमालखबर

मौद्रिक नीतिलाई चेम्बरको स्वागत

नेपाल चेम्बर अफ कमर्सले २ साउनमा जारी चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । चेम्बरले ४ साउन (आइतबार) एक प्रेस विज्ञप्ति जारी गरेरै मौद्रिक नीति थलिएको अर्थतन्त्र उकास्न सहयोगी हुने भन्दै स्वागत गरेको हो।

कोभिड–१९को प्रभाववाट धराशायी एवं शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिन, अर्थतन्त्रको पुनरुत्थान गर्न र व्यवसायीलाई राहत दिन मौद्रिक नीतिले सहयोगी भूमिका निर्वाह गर्ने चेम्बरको भनाइ छ ।

मौद्रिक नीति तयारीको क्रममा नेपाल चेम्बर अफ कमर्सद्वारा दिइएका सुझावहरु मध्ये करीब ७५ प्रतिशतभन्दा बढीको सम्बोधन भएको उल्लेख छ।

कोभिडको विश्वव्यापी महामारीले उत्पन्न आर्थिक संकटका बीच व्यवसायीबाट निकै अपेक्षा गरिएको मौद्रिक नीतिबाट राहत प्राप्त हुने विश्वास चेम्बरले लिएको छ।

कोभिड प्रभावित पेशा, उद्यम र व्यवसायको कर्जामा पहुँच अभिवृद्धि गर्न पुनर्कर्जा सम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै पुनर्कर्जाको लागि उपलब्ध कोषको ५ गुणासम्म उपलब्ध गराउने व्यवस्थालाई चेम्बरले सकारात्मक प्रयास भएको उल्लेख गरेको छ।

चेम्बरले कृषि क्षेत्रमा लगानीको न्यूनतम १५ प्रतिशत कर्जा अनिवार्य गरिएको किसान क्रेडिट कार्ड लागू गर्ने, ऊर्जा क्षेत्रलाई गतिशील बनाउन न्यूनतम १० प्रतिशत यस क्षेत्रमा लगानी गर्नुपर्ने, पर्यटन लगायत सम्बन्धित क्षेत्रको पुनरुत्थान गर्न चालु पुँजीकर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा दिने योजना प्रशंसनीय रहेको उल्लेख गरेको छ।

यस्तै वाणिज्य ब्यांकहरुले २०८१ असार मसान्त सम्म लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा रु.१ करोड भन्दा कमका कर्जाहरु आफ्नो कुलकर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी गर्ने, कर्जा पुँजीको अनुपात (सीसीडी) ८५ प्रतिशतमा पुर्‍याइएको छ । बिग मर्जरमा जाँदा सहुलियत दिने व्यवस्था लागू गर्नेसहितका सकारात्मक पक्षको स्वागत गरेको छ।

प्रतिकृया दिनुहोस