समाचार शुक्रबार, साउन २, २०७७

पर्यटनका आयोजनालाई पुँजी अभाव हुन नदिइने, ५ प्रतिशत व्याजमै कर्जा

हिमालखबर

पर्यटनका आयोजनालाई पुँजी अभाव हुन नदिइने, ५ प्रतिशत व्याजमै कर्जा

नेपाल राष्ट्र ब्यांकले २ साउनमा जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधीन आयोजनालाई निर्माण सम्पन्न गर्न पुँजी अभाव हुन नदिने उल्लेख छ।

त्यस्ता आयोजनाका लागि ब्यांक तथा वित्तीय संस्थाबाट सहज ढंगबाट कर्जा उपलब्ध हुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । कोभिड–१९ का कारण अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल रेस्टुरेन्ट लगायतका पर्यटनका क्षेत्रमा उद्यम व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइने उल्लेख छ।

यस्तै वाणिज्य ब्यांकहरुले असार २०८१ सम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु.१ करोडभन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ।

कोभिडले असर पुगेको क्षेत्रको अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न सहुलियतपूर्ण कर्जा दिइने भएको छ । यस्तो कर्जा ५ प्रतिशत ब्याजदरमा दिइने छ।

साथै सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गरिने भएको छ । यसका लागि वाणिज्य ब्यांकले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरको विकास ब्यांकले कम्तीमा ३०० र प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ।

यसका साथै विकास ब्यांकले पनि कुल कर्जा लगानीको २० प्रतिशत एवं वित्त कम्पनीहरुले १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम, ऊर्जा र पर्यटमा लगानी गर्नुपर्ने छ । यस्तो लगानी आगामी पाँच वर्षभित्रै गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

चालू आवको बजेटले स्थापना गरेको रु.५० अर्बको कोष परिचालन गर्ने आधार तय गरिएको छ । कोषको परिचालन कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम लगायतका व्यवसायको सञ्चालन, निरन्तरता दिनमा प्रयोग गरिने उल्लेख छ । यी संस्थालाई ५ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ।

प्रतिकृया दिनुहोस