टिप्पणी शुक्रबार, साउन २, २०७७

सलहले सखाप नपारोस् !

हिमालखबर

सलहले सखाप नपारोस् !
विश्वनाथ खरेल

कोरोनाभाइरसको आतंकले थिचिरहेको वेला ‘सलह आतंक’ थपिएको छ। विडम्बना कोरोनामा जस्तै सलहमा पनि सही विश्लेषण गर्न सरकारी विज्ञहरू चुकेका छन्।

वर्षा शुरु भइसकेकाले नेपालमा सलह आउँदैन भन्ने सरकारी दाबी असत्य सावित भइसकेको छ। सलह नेपालमा आइपुग्याे।

छिमेकी भारतमा सलह आतंक देखिएपछि नेपालमा सलह आउने सम्भावना उच्च देखेरै रोकथाम तथा नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गर्‍यो।

अहिले सलहले कृषिबाली र वनस्पतिमा ठूलो असर नगर्ने दाबी तिनै विज्ञ र प्राविधिकहरू गरिरहेका छन्, जो यसअघि सलह नेपाल नपस्ने दाबी गरिरहेका थिए। सलह आतंकबाट बँच्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।

एक दिनमा झण्डै १ सय ५० किलोमीटरको यात्रा तय गर्ने सलह झुण्डझुण्डमै अफ्रिकी मुलुकबाट खाडी मुलुक हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र भारतबाट नेपाल आएको थियो।

याे पनि पढ्नुहाेस्– सलहले अन्डा र बच्चा पार्ने क्रम नरोकेपछि नेपालमा असोजसम्म जोखिम

विश्व खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार, सामान्यतया सलहका एकै बथानमा झण्डै चारदेखि आठ करोड फट्याङ्ग्रा हुन्छन्। एक दिनमा अधिकतम पाँच सय किमीसम्म बथान बनाएर उड्ने र अनुकूल गन्तव्य पुगेर जमीनमा ओर्लने गर्छन्। सलहले फौजी किराको तुलनामा बालीमा छिटो र कैयौं गुणा क्षति गर्न सक्छ। गर्मीमा यसको स्थानान्तरणको गति तीव्र बन्छ।

सलहले फौजी किराको तुलनामा बालीमा छिटो र कैयौं गुणा क्षति गर्न सक्छ। गर्मीमा यसको स्थानान्तरणको गति तीव्र बन्छ।

सलहले एक दिनमा आफ्नो तौल बराबरको (करीब २ ग्राम) हरियो बस्तु खान सक्छ। ठूलो सलहको बथानले एक दिनमा करीब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिन्छ।

कृषि मन्त्रालयका अनुसार, १३ असारमा भारतबाट रुपन्देही हुँदै नेपाल पसेको सलहका साना तथा ठूला झुण्ड ५२ जिल्लामा देखिएको छ। सलहले अहिलेसम्म मकै, तरकारी, फलफूल र भटमास गरी करीब १ हजार १ सय १८ हेक्टरमा क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

याे पनि पढ्नुहाेस्– नेपाल भित्रिएको सलहको प्राकृतिक आचरणमा फरक, क्षतिको सम्भावना कम

सलह नेपालमा पहिलोपटक सन् १९६२ मा देखिएको थियो र यसले काठमाडौं उपत्यका लगायत क्षेत्रमा ठूलो विनाश गरेको थियो। सलह कृषि क्षेत्रका लागि ठूलो शत्रु मानिन्छ। यो फट्याङ्ग्राको फैलावटबाट कतिपय देशका जनता भोकमरीको प्रकोपमा समेत परेका छन्।

कोरोनाको संकटसँग जुधिरहेको नेपालले पनि सलहकै कारण खाद्यसंकट भोग्न सक्छ। तर, यसतर्फ सरकारले ठोस कदम चाल्न सकेको छैन।

अफ्रिकी मुलुकहरूमा मेसिन मार्फत विषादी छरिएको थियो। कतिपय मुलुकले त विषादी छर्कन हेलिकप्टरकै प्रयोग गरेका थिए।

सलहलाई वयष्क हुनै नदिई मार्न वा भगाउन सके कम क्षति हुने विज्ञहरुको निष्कर्ष छ। त्यसका लागि विभिन्न उपाय अपनाउन सकिन्छ। जस्तो कि, विषादी छर्कने, विषालु खानेकुरा राखिदिने, रासायनिक कीटनाशकको प्रयोग गर्ने, धुवाँ पार्ने, जाल बिछ्याउने, चर्को आवाज फैलाउनेजस्ता केही उपाय अन्यत्र प्रभावकारी देखिएका छन्।

अफ्रिकी मुलुकहरूमा मेसिन मार्फत विषादी छरिएको थियो। कतिपय मुलुकले त विषादी छर्कन हेलिकप्टरकै प्रयोग गरेका थिए।

भारतको गुजरात र राजस्थानमा सलह नियन्त्रण कार्यालय नै स्थापना गरिएका छन्। प्रभावित दशौं हजार हेक्टरमा विषादी छर्किइएको थियो। विषादीका लागि ड्रोन पनि प्रयोग गरिएको थियो। अहिले पनि दर्जनौं दमकल तम्तयार राखिएका छन्। त्यहाँका सरकारहरुले विषादी छर्कने थप मेसिन बेलायतबाट किन्ने तयारी गरिरहेका छन्।

नेपालले पनि क्षमताले भ्याएसम्मका क्षति नियन्त्रणको तयारी गर्नैपर्छ। ढिलो नगरी सबैभन्दा पहिले विषादी व्यवस्थापन, वितरण, छर्कने मेसिन र जनशक्तिजस्ता पक्षमा ध्यान पुर्‍याउनु पर्छ।

(खरेल सरकारका पूर्व योजना अधिकृत हुन्।)

प्रतिकृया दिनुहोस