समाचारआइतबार, ३ चैत्र , २०७५

सरकारबाट तत्काल बाहिरिने सोच छैन : उपप्रम यादव

रासस

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आइतबार विराटनगर आउँदा विमानस्थलमा पार्टीका कार्यकर्ताले स्वागत गर्दै । तस्वीर : रासस

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल संघीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको पनि बताएका छन् ।

उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रूपमा लिएको प्रस्ट पारे ।

उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य पूरा गरेको हो, त्यो जुनसुकै सरकारले पनि गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आतंक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने पनि बताए ।

उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत संग्रह उल्लेख नभएको प्रस्ट पार्दै जनमत संग्रह र जनअभिमत फरक विषय रहेको बताए । उनले सिके राउतसँग भएका ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल भएको स्पष्ट पारेका छन् ।

उनले प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र संघीय सरकारले आफ्नो मातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार नखोसिएको जनाएका छन् ।

स्वास्थ्यमन्त्री समेत रहेका उपप्रधानमन्त्री यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबिन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस