ओली–दाहालबीच तीन घण्टा लामो छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तीन घण्टा लामो छलफल भएको छ। बिहान ११ः३० बजे देखि शुरु भएको ‘वान अन वान’ वार्ता भर्खरै सकिएको छ।
२४ असारदेखि दुई अध्यक्षबीच वार्ता हुनसकेको थिएन। २६ असारमा बोलाइएको स्थायी कमिटी २ साउनसम्म स्थगित भएपछि दाहाल चितवन गएका थिए।
सोमबार दाहाल काठमाडौं आए पनि मंगलबार कुराकानी हुन सकेन। दाहाल बालुवाटार पुगे पनि विना छलफल खुमलटार फर्किएका थिए।
बुधबार भने निकै लामो छलफल भएको दाहालका प्रेस संयाेजक विष्णुप्रसाद सापकाेटाले बताए। प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा मागिएपछि नेकपा फुटको संघारमा पुगेको छ। तर, एक साता स्थायी कमिटी स्थगित भएपछि दाहालले चितवन पुगेर पार्टी विभाजन नहुने बताएका थिए। उनले दुई अध्यक्षलाई उक्साउने नेताहरु देखिए पनि विभाजनसम्म नपुग्ने बताएका थिए।
याे पनि पढ्नुहाेस्: के नेकपा फुटबाट जोगिएकै हो ?
देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पनि विवाद पार्टीभित्रको आन्तरिक र नियमित प्रक्रिया भएको बताएका थिए। त्यसयता ओली र दाहालबीच पहिलो पटक भेटवार्ता भएको छ।
१० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक तिक्ततातर्फ अगाडि बढेपछि एक साताका लागि बैठक स्थगित गरिएको छ। नेकपाको सचिवालय र स्थायी कमिटीमा प्रधानमन्त्री ओली चरम अल्पमतमा परेका छन्। तर, ओली निकट नेताहरुले भने महाधिवेशनसम्म बहुमत र अल्पमतको कुरा गर्न नहुने बताउँदै आएका छन्।