स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताबारे छलफल गर्न उपप्रधानमन्त्री पोखरेललाई लेखा समितिमा बोलाउने तयारी
स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषयमा छलफल गर्नका लागि लेखा समितिले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बोलाउने तयारी गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि खरीद गरिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको विषयमा लेखा समितिमा छलफल चलिरहेको छ।
छलफलकै क्रममा पोखरेललाई बोलाउने तयारी भएको समितिका सचिव रोजनाथ पाण्डेले हिमालखबरलाई जानकारी दिए । समितिमा छलफलका लागि पोखरेललाई बोलाउने तयारी भए पनि मिति भने टुंगो नलागेको सचिव पाण्डेको भनाइ छ । “कहिले बोलाउने भन्ने बारेमा मिति टुङ्गो लागिसकेको छैन,” उनले भने।
उपप्रधानमन्त्री पोखरेल कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक हुन् । लेखा समितिले चीनबाट खरीद गरेको कोरोना रोकथाम तथा नियन्त्रयण सम्बन्धी स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको भन्दै त्यसबारे जिम्मेवार अधिकारीहरुलाई बोलाएर छलफल गरिरहेको छ।
यसअघि लेखा समितिले यसै विषयमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि बोलाइसकेको छ।