नक्कली भ्याटबिल बनाउने माथि रु. ३८ करोडको मुद्दा
राजस्व अनुसन्धान विभागले झूटा र नक्कली मूल्य अभिवृद्धि कर बीजक मार्फत करीब रु. ३८ करोड राजस्व छली गर्ने युनिक वाइड इन्टरनेशनल र न्यू युनिक इन्टरनेशनलका सञ्चालक भुवन पाण्डेमाथि मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा सोमबार मुद्दा दायर गरिएको हो।
पाण्डेका दुई कम्पनीले वस्तु तथा सेवा नै खरीद नगरी झूटा र नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत चुहावट गरेको विभागको अनुसन्धानले देखाएको थियो ।
यी कम्पनीले मूल्य अभिवृद्धि करतर्फ रु. १२ करोड ४२ लाख, आयकरतर्फ रु. २२ करोड ८० लाख र लाभाशंतर्फ २ करोड ५७ लाख गरी कुल ३७ करोड ८० लाख राजस्व छलेको भेटिएको थियो।
पाण्डेविरुद्ध यही बिगो रकम कायम गरी बिगो र जरिवानासमेत असुल उपर तथा कैद सजायको माग गरिएको छ।