रामको जन्मभूमिबारे परराष्ट्रको स्पष्टोक्ति- ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित होइन’
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले २९ असारमा ‘भगवान राम’ को जन्मभूमिबारे दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ।
मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशन गरी आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको फरक व्याख्या भएको भन्दै त्यसमा स्पष्ट पारेको हो । उक्त अभिव्यक्ति कसैको भावनामा चोट पुर्याउने मनसायबाट नआएको परराष्ट्रले जनाएको छ।
राम र उनीसँग जोडिएका धार्मिकस्थलबारे धेरै मिथ र सन्दर्भ सामग्री रहेको भन्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले ‘रामायणले समेट्ने विशाल सांस्कृतिक क्षेत्र, राम, रामायण र यो समृद्ध सभ्यताबारे थप अध्ययन र अनुसन्धानमा जोड दिएको’ दाबी गरेको छ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यको अवमूल्यन गर्नका लागि थिएन’, विज्ञप्तिमा भनिएको छ।
हरेक वर्ष विवाह पञ्चमीको अवसरमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म जन्ती आउने प्रचलन रहेको र दुवै देशका प्रधानमन्त्रीले सन् २०१८ को मे महीनामा रामायण सर्किटको उद्घाटन गर्दै जनकपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालन गरेको सन्दर्भ जोड्दै परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘यस्ता तथ्यले दुई देशका संस्कृति र जनताबीचको सौहार्दपूर्ण सम्बन्धबारे प्रकाश पार्छन्।’
२९ असारमा भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिको नेपाल र भारतमा समेत सार्वजनिक रुपमा आलोचना भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारेको हो।