दोलखाको बिगुमा एक दम्पती बेपत्ता
दोलखाको बिगु गाउँपालिका–२ वराङका एक दम्पती हिजोदेखि बेपत्ता भएका छन् । ६५ वर्षीय रामजी विक र उनकी श्रीमती ६० वर्षीया बुद्धिमाया विक बेपत्ता भएका हुन्।
उनीहरूलाई खोलाले बगाएको हुनसक्ने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार, विक दम्पती हिजो बिहान ११ बजेतिर घर नजिकको टाइबा खोलापारि खेतमा गएदेखि बेपत्ता भएका हुन्।
उनीहरूको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले बताए । खोलाले बगाएको आशंकामा प्रहरी नायब निरीक्षक कैलाशकुमार श्रेष्ठ नेतृत्वको टोलीले टाइबा खोलादेखि तातोपानी दोभानसम्म खोजी गरे पनि फेला पार्न नसकेको तमाङले जानकारी दिए।
- शर्मिला बुढाथोकी, दोलखा