समाचार मंगलबार, असार ३०, २०७७

संसदीय विशेष समितिले रुकुम घटनाको प्रतिवेदन बुझाउँदै

हिमालखबर

संसदीय विशेष समितिले रुकुम घटनाको प्रतिवेदन बुझाउँदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने भएको छ। 

समितिले दिउँसो ४ बजे सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

२६ जेठको प्रतिनिधिसभाको बैठकबाट रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो।

समितिलाई काम शुरु गरेको मितिले एक महीना भित्र प्रतिवेदन तयार गरी पेश गर्न कार्यादेश थियो । समितिले जेठ अन्तिमदेखि काम थालेको थियो।

१० जेठमा रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा मल्ल थरकी प्रेमिकालाई भगाएर विवाह गर्ने भन्दै जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ का नवराज विक साथीहरु लिएर गएका थिए । तर युवतीका आफन्तले नवराजसहित उनका साथीहरुलाई आक्रमण गर्दै लखेटेपछि बेपत्ता भएका ६ जना मृत भेटिएका थिए।

जातीय विभेदका कारण हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने चौतर्फी मागपछि संसदीय समिति गठन भएको थियो।

प्रतिकृया दिनुहोस