पहिरोका कारण पाल्पा बुटवल सडक अवरुद्ध
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि हिजोदेखि यातायात बन्द छ। पहिरो खस्ने क्रम आज पनि रोकिएको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका ५ चर्चरे नजिकै आज बिहान पहिरो खसेको छ। हिजो साँझ तिनाउ गाउँपालिकाकै दोभान बजार नजिकै पनि पहिरो गएको छ।
दोभान बजारदेखि १०० मिटर बुटवलतर्फ सडकभन्दा माथिबाट पहिरो खसेको छ। सडकमै थुप्रिएको पहिरो अहिलेसम्म हटाइएको छैन। पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि बुटवलबाट गुल्मी, पाल्पा र स्याङ्जा हुँदै पोखरासम्म जाने र पहाडी क्षेत्रबाट बुटवल झर्ने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ।