समाचार मंगलबार, असार ३०, २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या नौ लाख नाघ्यो

हिमालखबर

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या नौ लाख नाघ्यो

भारतमा कोरोनाभाइरसबाट कूल संक्रमितको संख्या नौ लाख नाघेको छ। अहिलेसम्म त्यहाँ नौ लाख सात हजार ६४५ लाई संक्रमण भएको छ। संक्रमण दर बढ्दो गतिमा छ।

विश्वमा धेरै कोरोना संक्रमण हुने देशमध्ये भारत तेस्रो हो। अमेरिकामा सबैभन्दा धेरै झन्डै ३४ लाख ८० हजार र ब्राजिलमा १८ लाख ९० हजार संक्रमित छन्।

भारतमा कूल संक्रमितमध्ये पाँच लाख ६९ हजार ७५३ जना निको भइसकेका छन्। अहिले तीन लाख १० हजार ३७७ जनाको उपचार भइरहेको दैनिक भाष्करले उल्लेख गरेको छ। २३ हजार ७११ जनाको मृत्यु भएको छ।

सोमबार लगातार चौथो दिन २७ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ४९८ र तमिलनाडुमा चार हजार ३२८ संक्रमित भेटिएका छन्। यी दुई राज्य बढी प्रभावित छन्। त्यसपछि दिल्ली बढी प्रभावित छ।

बलिउड कलाकारहरुलाई पनि कोरोना संक्रमण भएको विषयले भारतीय सञ्चारमाध्यमका समाचारहरुमा प्राथमिकता पाएका छन्। खासगरी अमिताभ बच्चन परिवारलाई संक्रमण भएको विषय चर्चामा छ।

सुरुमा अमिताभलाई संक्रमण भएको समाचार आएको थियो। उनले ट्विटमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका थिए।

त्यसपछि छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनीलाई पनि संक्रमण देखिएको छ। उनीहरु सबैजनाको मुम्बईस्थित अस्पतालमा उपचार भइरहेको छ। उनीहरुका परिवारका अन्य सदस्य र कामदारको पनि परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस