उचित सतर्कता नअपनाउदा महामारी खतरातर्फः डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धेरै देशहरुले आवश्यक निर्णय नलिदा कोभिड महामारी झनै बिकराल बन्दै गएको बताएको छ।
महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्नबाट धेरै देशहरु गलत दिशामा रहेको डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयसियसले बताएका छन्।
उनले डब्लुएचओले दिएको विधि र प्रक्रिया नअपनाइएका ठाउँहरुमा महामारी धेरै बढेको पनि बताए। त्यसको केन्द्र विन्दू अमेरिका बनेको पनि डब्लुएचओले जनाएको छ।
अमेरिकामा अहिले पनि स्वास्थ्यकर्मी र राष्ट्रपति डोनल्ड ट्रम्प बीच विरोधाभास छ। राष्ट्रपति ट्रम्प स्वास्थ्यकर्मीको सल्लाह मान्न तयार देखिन्नन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, अमेरिकामा ३३ लाख बढीमा संक्रमण पुष्टि भएको छ भने एक लाख ३५ हजारको मृत्यु भएको छ।
जेनेभामा आयोजित प्रेस ब्रिफिङमा डा.टेड्रोसले कोभिड महामारीबारे डब्लुएचओ भन्दा फरक उपायहरु भनिदा विरोधाभास देखिएको बताए। “यो भाइरस सार्वजनिक दुस्मन हुन्, तर धेरै सरकार र जनताको कार्यले यसलाई प्रतिविम्वित गर्दैन”, उनले भने।
हात धुने, सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने जस्ता विधि नै महामारीबाट बच्ने विकल्प भएको उनले बताए। महामारीलाई गम्भीरताका साथ नलिए फेरि महामारी पुरानै अवस्थामा आउनसक्ने पनि उनले चेतावनी दिए।
“आधारभूत कुराको पालना नभए महामारी मात्रै विकल्प बन्छ। त्यो अवस्थामा महामारीको अवस्था झनै बढेर जानेछ”, उनले भने।