म्यानचेस्टर सिटीलाई ठूलो राहत : च्याम्पियन्स लिग खेल्न पाउने
इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीका लागि आज निकै ठूलो दिन थियो। खासमा यो सिटी मात्र होइन, चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीका लागि पनि निकै महत्वसाथ हेरिएको दिन थियो।
धेरैको आकलन थियो, म्यानचेस्टर सिटीले अबका दुई वर्ष यूरोपको सर्वाधिक ठूलो प्रतियोगिता, च्याम्पियन्स लिग खेल्न पाउने छैन। किनभने, यूरोपेली फूटबलको सर्वोच्च निकाय यूईएफएले सिटीमाथि दुई वर्ष च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। र, त्यो निर्णयविरुद्ध सिटीले गरेको अपिलमाथि आज अन्तिम निर्णय आउँदै थियो।
प्रिमियर लिगमा हाल दोस्रो स्थानमा रहेको सिटीले च्याम्पियन्स लिग खेल्न नपाउनुको अर्थ हुन्थ्यो- तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका लागि अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने सम्भावना पक्का हुनु।
प्रिमियर लिगका शीर्ष चार टोली मात्र च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्। तर, चेल्सी, लेस्टर र म्यानचेस्टर युनाइटेडमध्ये को-को शीर्ष चारमा रहन्छन् र को पाँचौं नम्बरमा पुग्छ भन्ने टुंगो छैन।
यस्तो जोडघटाउबीच आज आएको कोट अफ आर्बिट्रेसन अफ स्पोर्टस् (कास) को निर्णयले म्यानचेस्टर सिटीलाई राहत दिएको छ। कासले म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग खेल्न पाउने फैसला सुनाएको छ। तर, सिटीले युईएफएलाई १ करोड यूरो जरिवानास्वरुप तिर्नुपर्नेछ।
यसअघि युईएफएले सिटीमाथि फाइनान्सियल फेयर प्लेमा प्रतिबद्ध नरहेको ठहर गर्दै प्रतिबन्धसहित ३ करोड यूरो जरिबाना गर्ने निर्णय सुनाएको थियो। अन्तिम निर्णयमा सिटीले जरिबाना रकम पनि तीन गुणा कम तिर्नुपर्ने भएको छ।
यो निर्णयले चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको बेचैनी भने बढाइदिएको छ। प्रिमियर लिग सम्पन्न हुनेतिर अघि बढ्दा तेस्रो स्थानको चेल्सीको ६०, चौथो स्थानको लेस्टरको ५९ र पाँचौं स्थानको युनाइटेडको ५८ अंक छ। चेल्सी र लेस्टरले अब तीन-तीन खेल खेल्न बाँकी छ भने युनाइटेडले चार खेल खेल्न बाँकी छ। यी तीनमध्ये एक टिम च्याम्पियन्स लिगमा सहभागी हुन पाउने छैन।