ढल व्यवस्थापन गरी टुकुचामा शुद्ध पानी बगाइने
सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको व्यवस्थापन र संरक्षण गर्ने भएको छ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आज टुकुचा खोलाको अवलोकन गर्दै आगामी आर्थिक वर्षको बजेटमा टुकुचाको व्यवस्थापनका लागि रु.२० करोड छुट्याइएकाले काम छिटै अगाडि बढाइने बताए। मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको दायाँ बायाँ किनारलाई व्यवस्थित बनाई प्राकृतिक रुप दिने उल्लेख गरे।
अवलोकनमा सहभागी अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ-बायाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एशियाली विकास ब्याङ्कसँग मिलेर काम गरिने जानकारी दिए। “एडीबीको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा छलफल भइरहेको छ”, उनले भने।
खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रुप दिइने जनाइएको छ।
टुकुचा खोलाको व्यवस्थापन गरी सफा पानी बगाउने कार्यमा आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन्।