कला/साहित्य मंगलबार, असार ३०, २०७७

प्रेम र सौन्दर्यका चित्रकार अर्थात् श्यामलाल

ज्ञानेन्द्र विवश

प्रेम र सौन्दर्यका चित्रकार अर्थात् श्यामलाल
कलाकार श्यामलाल श्रेष्ठ र उनकाे कलाकृति ।

कलामा लामो समयसम्म गरेको अध्ययन र खोजले कलाकार श्यामलाल श्रेष्ठलाई आज रङ क्षमताका पारङ्गत शिल्पीका रूपमा उभ्याएको छ। कलामा रुचिपूर्वक संलग्न भएकैले पनि उनलाई यस क्षेत्रमा सफलता मिलेको हो भन्न सकिन्छ।

नेपाली चित्रकलामा धेरै सुनामहरू छन्। सम्मानित र सम्मान पाउनबाट वञ्चितहरू पनि थुप्रै छन्। कतिपय काम नगरी नै चर्चाको चुलीमा छन्। कतिचाहिं जति काम गरे पनि सधैं ओझेलमै छन्। धेरै विषय, शैली र सिर्जनात्मक कर्ममा समर्पित रहेर पनि मानसम्मानबाट उपेक्षित रहेका एक स्वनामधन्य चित्रकार बल्ल सम्मानित भएका छन्।

ज्ञानेन्द्र विवश

तिनै चित्रकार जसका चित्रकलाको सौन्दर्यमय उपस्थितिले नेपाली ललितकला धन्य बनेको छ। तिनै अग्रज कलाकार श्यामलाल श्रेष्ठको संक्षिप्त कला विवरणबाट उनको विषयमा केही लेखकीय सम्मान हुने अपेक्षा लिइएको छ।

कलाकार श्यामलाल श्रेष्ठलाई नेपाल सरकारले नेपाली चित्रकलामा दिएको योगदानको सम्मान गर्दै एकलाख रुपैयाँ राशिको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट असार २९ गते भानु जयन्तीका दिन सम्मानित गर्‍याे। नेपाली चित्रकलामा उनको उपस्थिति लामो समयदेखि अविच्छिन्न रहँदै आइरहेको छ। यो सम्मान पनि नेपाली चित्रकलाकै सम्मान हो। उनले यसलाई यही रूपमा लिएका छन्।

उनी भन्छन्, “राष्ट्रले दिएको र आफूले पाएको यो सम्मान सबै कलाकारहरूकै सम्मान हो। सबैको बधाई र शुभकामना पाएर काममा उत्साहित भएको छु। तपाईंहरू जस्तै शुभचिन्तकहरूको साथले नयाँ काम गर्ने प्रेरणा मिल्दछ। म एकदमै खुशी छु।”

कलाकार श्यामलाल श्रेष्ठको कलाकारिताले चार दशक नाघिसकेको छ। त्यसबीच नयाँ पुस्ताका कलाकार जन्मिसकेका छन्। श्रेष्ठको उमेरमा पनि परिपक्वपन आइसकेको छ। कलामा पनि धेरै परिवर्तन र परिष्कार आइसकेको हुनुपर्छ। उनले कलामा सधैं सौन्दर्यको परिभाषालाई अर्थपूर्ण रूपान्तरण गर्दै आइरहेका छन्। उनका कलाले मौलिक नेपाली पहिचानको मिठासपूर्ण स्वाद प्रत्येक कलापारखीलाई चखाउँदै आइरहेको छ।

उनी भन्छन्– जीवनको आधार सौन्दर्य हो। त्यस्तो सुन्दर आधारलाई आकार दिएर अभिव्यक्त गर्ने माध्यम कला हो। मेरा कलाकृतिहरूले पनि मान्छेका मनमा आनन्दको भावना र आँखामा सौन्दर्यको अनुभूति गराउँछ भन्ने मेरो विश्वास छ।

कलाकार श्रेष्ठको क्यानभासमा रङहरूको सन्तुलित गति लहर, लाइन वा बाक्लो तरङ्गित आयाम अभिव्यक्त भएका हुन्छन्। उनका कलामा प्रेमभाव हुन वा प्रकृति–प्रणय समग्रमा प्रत्येक चित्रले माया र प्रेमका सुन्दर भावलाई प्रतिविम्बित गर्दछन्। प्रकृतिप्रेम, संस्कृतिप्रेम तथा प्रेमी–प्रेमिकाको प्रेम यी आदिमा उनका सुललित सिर्जना कलात्मक लाग्दछन्।

याे पनि हेर्नुहाेस्– शङ्करनाथले के साेचेर बनाएका थिए नेपालकाे झण्डाकाे शास्त्रीय नमूना ?

कलाकार श्यामलाल श्रेष्ठका कृति ।

यसका साथै नेपाली महिलाका विविध रूपलाई पनि उनका कलाले आकृतिबद्ध गर्ने गरेका छन्। उनका कलामा आममान्छेका चाहना हुन्छन्। तिनका आस्था, विश्वास, श्रम र सीपका अनेक स्वरूपहरू पनि उनका कलामा देख्न सकिन्छ। यसबाहेक धार्मिक भावना वा सांस्कृतिक सचेतनाले भरिएका सिर्जना पनि उनका महत्वपूर्ण कलाकर्म हुन्।

उनी नेपाली चित्रकलामा स्थापित सर्जक हुन्। उनको जन्म २००१ साल भोटाहिटीमा माता मथुरादेवी श्रेष्ठ र पिता कृष्णलाल श्रेष्ठबाट भएको हो। उनको पारिवार बाजे, बराजुको पालादेखि नै व्यापारिक पेशामा आबद्ध थिए। उनका पिता पनि भोटाहिटीमा दाल, चामलको ठूलो पसल चलाउँथे। उनको बा, आमा सीधासाधा र धार्मिक प्रवृत्तिका थिए तर उनीहरूलाई आफ्नो व्यापार–व्यवसायबाहेक अरू केहीको पनि मतलब थिएन।

उनको बाल्यकाल बित्दै थियो। अलि भावुकता बढ्न थाल्यो। एकान्तप्रेमी र प्राकृतिक सुन्दरतामा रमाउन थाले। त्यस्तै चित्र आकृति बनाउन पाए कति आनन्द आउने थियो भन्ने लाग्यो। अनि गोल र चक लिएर सिलोट र भित्तामा रेखाहरू पनि कहिलेकाहीं कोर्ने गर्दथे।

याे पनि हेर्नुहाेस्– नेपाली ललितकलाः राष्ट्रिय भावना र स्वाभिमान जगाउने युद्धकला

दिन बित्दै गए पढ्ने लेख्ने वेला पनि भयो। उनका अनुसार उनी र उनकी दिदीलाई एकजना गुरुको घरमा लगियो। त्यहाँ पढ्नुअघि देवीदेवताको श्लोक गाउनुपथ्र्यो। त्यही गुरुकुलमा उनले नमोबागी, क ख ग पढ्न लेख्न थालेका थिए।

उनी भन्छन्– पछि मलाई दरबार स्कूलमा भर्ना गरियो। त्यसवेला म अलि चकचके र झगडालु किसिमको थिएँ, त्यस्तो स्वभावले गर्दा म एउटै स्कूलमा धेरै दिन टिक्न सकिनँ। पहिलो पटक म क्षेत्रपाटीको जे.पी. हाईस्कूलमा भर्ना भएँ।

एकदिन कक्षा कोठामा शिक्षकले गाईको निबन्ध पढाउने क्रममा गुरुले हामीहरूलाई गाईको चित्र बनाउन लगाए। मैले बनाएको चित्र सबभन्दा राम्रो भयो। गुरुले मलाई स्यावासी साथै केही कापी र कलम पनि पुरस्कार दिए। यो मेरो बालापनको सबभन्दा पहिलो पुरस्कार थियो। त्यसपछि मेरो चित्रकलामा रुचि झन् बढ्न थाल्यो।

याे पनि हेर्नुहाेस्– कलामा आमा, आमामा कला

कलाकार श्यामलाल श्रेष्ठका कृति ।

उनको चित्रकलाको रुचि देखेर ठूलो बाको छोराले उनलाई भेडासिंमा चन्द्रमानसिंह मास्केज्यूकहाँ चित्रकला सिक्न लगे। त्यहाँ भित्तामा झुण्ड्याएका विभिन्न प्रकारका चित्रहरू देखेर उनी धेरै प्रभावित भए। पछि उनलाई पनि यस्तो चित्र बनाउनुपर्छ भन्ने लागेको थियो तर त्यहाँ उनले धेरै दिनसम्म सिक्नै पाएनन्।

त्यसपछि एकजना कलाप्रेमीले उनलाई लैनसिंह बाङ्देलसँग परिचय गराइदियो। भाग्य भनौं वा संयोग, त्यसताका नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा एउटा कला शाखा खोलेर देशका नवोदित कलाकारहरूलाई कला सिकाउने व्यवस्था मिलाइएको थियो। उनी भन्छन्– बाङ्देलज्यूले मलाई पनि त्यहाँ आउनु भनेकोले म पनि त्यहाँ भर्ना भएँ। त्यहाँ तीन वर्ष जति उनको निर्देशनमा कला सिक्ने मौका पाएँ।

यो पनि पढ्नुहोस्—विवाहको निम्तो कार्डमा चित्रकला कहिले र कसले गर्‍यो प्रारम्भ ?

त्यसपछि ललितकला महाविद्यालय, भोटाहिटीमा पढ्न थाले। त्यहाँ उनले २०२५ सालमा ललितकलामा प्रथम श्रेणीमा उत्तीर्ण भई डिप्लोमा हासिल गरे। यसरी उनको कलायात्रा शुरू भयो। यो क्षेत्रमा उनले धेरै सङ्घर्ष गरेका छन्। धेरै उतार–चढाव देखेका छन्। सुख, दुःख अनुभव गरेका छन्। देश र विदेशमा कला प्रदर्शनीहरू गरेका छन्।

नेपाल लगायत अमेरिका, इटली, टर्की, भारत र जापानमा उनको एक व्यक्ति कला प्रदर्शनी भइसकेको छ। काठमाडौंमा मात्र उनको आठ पटक एकल कला प्रदर्शनी भएका छन्। दृश्यचित्र प्रतियोगितामा १९७४ मा प्रथम पुरस्कार पाइसकेका कलाकारले १९७१ मै राष्ट्रिय कला प्रदर्शनीमा तृतीय पुरस्कार पाएका थिए। कला प्रतियोगितामा उनलाई सन् १९८४ मा ‘गोल्ड मेडल’ समेत प्रदान गरिएको थियो।

श्यामलाल श्रेष्ठ विभिन्न कला संस्थासँग सम्बद्ध छन्। कलाको संस्थागत विकास र कलाकारमा एकताको भावना हुनुपर्ने उनको धारणा छ। उनी थप्छन्– म सधैंभरि नेपाली समाज र संस्कृतिबाट आफ्नो काममा उत्साहित हुँदै आएको छु। मलाई लाग्छ हाम्रा सांस्कृतिक सम्पदाहरू नै सिर्जनाका अजस्र स्रोत हुन्।

कलायात्राको प्रारम्भमा श्यामलालले प्रशस्त दृश्यचित्र, व्यक्तिचित्र र धार्मिक तथा सांस्कृतिक चित्रहरू बनाएका छन्। कलामा लामो समयसम्म गरेको अध्ययन र खोजले उनलाई आज रङ क्षमताका पारङ्गत शिल्पीका रूपमा उभ्याएको छ। कलामा रुचिपूर्वक संलग्न भएकैले पनि उनलाई यस क्षेत्रमा सफलता मिलेको हो भन्न सकिन्छ।

याे पनि हेर्नुहाेस्– पानीरंगकाे नेपाली कला: इतिहास र अवस्था दुवै दुई सय वर्ष पुरानाे

आज आएर अर्धमूर्त प्रभाववादी शैलीका चित्रकारितामा उनको परिचय स्थापित भएको छ। सांस्कृतिक चाडपर्व, नारी मनोदशा, जीवनका विविध अवस्थितिमा उनले खेलेका रङहरू तथा जीवन र प्रकृतिलाई एउटा भिन्न लयमा आकार दिने उनको शैली नितान्त निरन्तर छ। चित्रमा लय वा तरङ्गित प्रवाह प्रस्तुत गर्ने अन्य कलाकारको भन्दा उनको शैली केही पृथक् छ। रङका तरङ्गित प्रतिविम्बले उनीभित्रको कला चिन्तनलाई ब्युँझाउँछ।

कलाकार श्यामलाल श्रेष्ठका कृति ।

उनका कतिपय सांस्कृतिक चित्रमा आज अस्तित्वकै सङ्कट उत्पन्न भइसकेको छ। ढुङ्गेधारामा लुगा धुने, नुहाउने, ओखलमा धान कुट्ने चलन पनि हराउँदैछ। नारी सौन्दर्यकोे सन्देश र मातृत्व प्रेमको भावनामा पनि चोट पुगेको छ। उनले यसमा प्रकट गरेको सामाजिक सद्भाव र सांस्कृतिक चेतना विगतको दस्तावेज हुन सक्छन्।

चित्रकला भनेको रङको मेला मात्र होइन, सिर्जनात्मक बौद्धिकता पनि हो भन्ने मान्यता राख्ने श्यामलाल रङलाई चिनेर त्यसको प्रभावसँग प्रस्तुत हुन्छन्। चक्कु र कुचीको एकै प्रहारमा कोमल भावनाको सटिक विम्ब उतार्न अग्रसर रहन्छन्। 

याे पनि हेर्नुहाेस्– नेपाली कलाकारले कमाउँदैछन् अन्तर्राष्ट्रिय ख्याति

कलाकार श्यामलाल कलालाई भावनाको अभिव्यक्ति मान्दै यो अन्तर्राष्ट्रिय भाषा हो भनी सकार्छन्। त्यसैले उनका चित्रहरू भावनात्मक छन्। अनुभूतिको रङलेपनमा आकार कप्दै उनी कतै आस्थाको उदय गर्छन्, कतै श्रमको मूल्य खोज्छन् र कतै प्रेम–प्रीतिको विम्ब खिच्छन्। उनका चित्रहरू यथार्थ प्रतिविम्बको धरातलभन्दा अर्धअमूर्त रङको रूप विन्यासमा प्रस्तुत हुन्छन्।

यति भइकन कलाकार श्यामलाल श्रेष्ठ कला पारखीहरूका लागि रङहरूको मीठो मिलन र आकृतिहरूको संरचनामा आनन्द प्रदान गर्दछन्। रङहरू बाक्लो धर्सा भएर एकनासले बग्नु र तरङ्ग रूप लिनु उनको विशेषता हो। यो गतिशीलताको परिचायक पनि हो। यसरी नै उनको कामले नेपाली कला धन्य बनिरहोस् र उनी पनि यसैगरी सम्मानित रहिररहून्।

प्रतिकृया दिनुहोस