साझा पार्टीबाट बाहिरिए सूर्यराज आचार्य र मुमाराम खनाल
साझा पार्टीका केन्द्रीय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । पार्टीको आइतबार बसेको अनलाइन बैठकले केन्द्रीय सदस्यद्वयले दिएको राजीनामालाई स्वीकार गरेको जनाएको हो ।
पार्टीका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा आचार्य र खनालले दिएको राजीनामालाई स्वीकार गरेको र पार्टी निर्माणका लागि पुर्याएको सहयोगका लागि धन्यवाद दिएको उल्लेख गरिएको छ ।
"पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता डा सूर्यराज आचार्यले पार्टीका सबै जिम्मेवारी त्यागी पार्टीको संरचनाभन्दा अलग बसेर वैकल्पिक पार्टी निर्माणमा भूमिका निर्वाह गर्न गर्नुभएको प्रस्तावलाई स्वीकृत गऱ्यो । डा. आचार्यले पार्टीको स्थापना र निर्माणमा पुऱ्याउनुभएको योगदानप्रति बैठकले गहिरो आभार प्रकट गऱ्यो," जारी विज्ञप्तिमा आचार्यको विषयमा भनिएको छ, "उहाँको नयाँ भूमिकाका लागि शुभकामना व्यक्त गऱ्यो। र, आवश्यक पर्दा पार्टीलाई सहयोग गर्ने उहाँको वचनवद्धताको सम्मान गर्दै कुनै पनि बेला उहाँ पार्टीको संरचनामा जोडिन चाहेको खण्डमा पार्टीले खुला हृदयले स्वागत गर्ने प्रतिवद्धता जनायो ।"
त्यस्तै पार्टीका अर्का केन्द्रीय सदस्य खनालले चाहेको बेलामा पार्टीमा पुन: जोडिन सक्ने भन्दै राजीनामा स्वीकृत गरेको विज्ञप्तिमा जनाइएको छ । "पार्टीका केन्द्रीय सदस्य मुमाराम खनालले व्यक्तिगत कारणहरू जनाई दिनुभएको राजीनामा स्वीकृत गऱ्यो। खनालले पार्टी स्थापना र निर्माणमा पुऱ्याउनुभएको योगदानप्रति बैठकले गहिरो आभार प्रकट गऱ्यो। आवश्यक पर्दा पार्टीलाई सहयोग गर्ने उहाँको वचनवद्धताको सम्मान गर्दै कुनै पनि बेला उहाँ पार्टीको संरचनामा जोडिन चाहेको खण्डमा पार्टीले खुला हृदयले स्वागत गर्ने प्रतिवद्धता जनायो।"
साथै साझा पार्टीले समान सोच र विचार भएका पार्टी, समूह र व्यक्तिहरूसँग एकताको प्रकृयालाई अघि बढाउन बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशब दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय ‘राजनीतिक संवाद समिति’ समेत गठन गर्ने निर्णय गरेको जनाइएको छ ।