सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीसँग सरकारको आग्रह
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरूसँग कुरा गर्दै मन्त्री नेम्बाङले यातायातका साधन सञ्चालन गर्न आग्रह गरेका हुन् ।
विशेष परिस्थितिका कारण बन्द हुन पुगेको अवस्थामा अनावश्यक माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारीक नभएको भन्दै मन्त्री नेम्वाङले सवारी सञ्चालन गर्न आग्रह गरे ।
उनले अहिलेको समय आन्दोलनमा जस्तै माग राख्दै पुरा गर्न दवाव दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पारे । सबै क्षेत्रका व्यवसायीहरूलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरूले माग राख्दै खोल्दीन भन्न नहुने नेम्बाङको भनाइ थियो ।
उनले व्यवसायीका सबै आवश्यक्ताहरू सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरे ।
यातायात व्यवसायीहरूले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरूसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए ।
व्यवसायीहरूले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नहुँदासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीहरूका समस्या सम्बोधन गर्न माग गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए । चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न नसकिने कर्माचार्यले बताए ।
व्यवसायीहरूले पुनरकर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए ।