फेरि नेपाल आयो सलह, सतर्कता अपनाउन आग्रह
सलह पुन: नेपाल प्रवेश गरेको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार दाङमा देखिएको सलहको झुण्ड भारतको उत्तर प्रदेशस्थित सितापुर र बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरूमध्ये एउटा हो।
केन्द्रका अनुसार सलहको एउटा झुण्ड आइतबार बिहान साढे ९ बजे दाङ जिल्लाको गढवा गाउँपालिकाको वडा नम्बर २ र ३ प्रवेश गरेको थियो।
पुन: दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको र उक्त स्थानमा कृषक तथा स्थानीयबासीले विभिन्न अवरोधहरू सिर्जना गरेर बस्न नदिएपछि उत्तर पूर्वतर्फ लागेको केन्द्रले जनाएको छ।
उक्त सलह प्यूठान अर्घाखाँचीलगायत अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन केन्द्रले आग्रह गरेको छ।
त्यसैगरी थप सलहका झुण्डहरू समेत आउन सक्ने सम्भावना रहेकाले प्रदेश नं ५, २ तथा १ का र मध्यपहाडी क्षेत्रहरूमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले सचेत गराएको छ।