थप समाचारशनिबार, २ चैत्र , २०७५

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

रासस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को 'म पनि चौकीदार' अभियान सुरु गरेका छन् ।

सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गर्दै उनले शनिबारदेखि यो अभियान थालेका हुन्।

“तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उनले भनेका छन् ।

मोदीले अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा पनि आफू भारतको चौकीदार बन्न चाहेको कुरा उठाएका थिए ।

चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई थियो ।

काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मानिस चौकीदारको पक्षमा देखिएकाले मोदीले 'म पनि चौकीदार' अभियान सुरु गरेको कतिपयको भनाई छ ।

सर्वेक्षणले गान्धीले चौकीदारलाई होच्याइएकामा धेरैलाई रिस उठेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसअघिको निर्वाचनमा मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो, जसको सकारात्मक प्रभाव परेको थियो ।
भारतमा यही मार्च ३१ देखि निर्वाचन हुँदैछ ।

 

प्रतिकृया दिनुहोस