खेलकुद शनिबार, असार २७, २०७७

कीर्तिमानी मूल्यमा सन्दीप लामिछाने अनुबन्धित सीपीएल हुने पक्का

हिमालखबर

कीर्तिमानी मूल्यमा सन्दीप लामिछाने अनुबन्धित सीपीएल हुने पक्का

कीर्तिमानी मूल्यमा नेपालका सन्दीप लामिछाने अनुबन्धित क्यारेवियन प्रिमियर लिग (सीपीएल) सञ्चालन हुने पक्का भएको छ।

ट्रिनिडाड एण्ड टोबागोले प्रतियोगिता सञ्चालनको अनुमति दिएपछि लिग हुने पक्का भएको हो।

यसअघि विभिन्न रंगशालामा हुने लिग कोभिड महामारीका कारण यसपटक भने ट्रिनिडाड एण्ड टोबागोमा मात्रै हुनेछ। त्यहाँको सरकारले सञ्चालनको अनुमति दिएपछि लिग हुने निश्चित भएको हो।

लिग अगामी १८ अगस्तदेखि १० सेप्टेम्बरसम्म हुनेछ। प्रतियोगितामा दर्शक भने हुनेछैनन् भने कुनै खेलाडीलाई कोभिड संक्रमण देखिए सबै खेलाडीलाई १४ दिन क्वारेन्टिनमा राखिनेछ।

सीपीएलको पहिलो र दोस्रो संस्करण भने विभिन्न रंगशालामा भएको थियो। दुवै संस्करणमा सन्दीपले खेलेका थिए। यसपटक सन्दीप लामिछाने एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन्। उनी पहिलो संस्करणमा पाँच हजार र दोस्रो संस्करणमा ७० हजार डलरमा खेलेका थिए।

सन्दीप जमैका तलावाजबाट यसपटक खेल्दैछन्। सीपीएल खेल्न २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए। सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए।

सन्दीपले पहिलो संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र दोस्रो संस्करणमा बार्बाडोस ट्राइडेन्सबाट खेलेका थिए।

प्रतिकृया दिनुहोस