संक्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृतक संख्या ३८ पुग्याे
गएको २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौं- १० शंखमुलका ६० वर्षीय पुरूषकाे २६ असारमा मृत्यु भएको छ। १६ असारमा पाटन अस्पताल भर्ना भएका उनको १७ असारको पीसीआर परीक्षण पोजेटिभ आएको थियो।
सिन्धुपाल्चोकको पाँचपोखरी–६ का अर्का ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। २२ असारमा पाटन अस्पताल भर्ना भएका उनको २५ असारमा मृत्यु भएको छ।
काठमाडौं गोकर्णेश्वर–६ का ५४ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौं मेडिकल कलेजमा उपचारत उनको २५ असारमा मृत्यु भएको हो। २१ असारमा अस्पताल भर्ना भएका ती संक्रमित २५ असारमा मृत्यु भएको छ। याे सँगै मृतक संख्या ३८ पुगेकाे छ।
गएको २४ घण्टामा कोभिड–१९ का ७० जना संक्रमित थपिएका छन्। शनिबार थपिएका सँगै संक्रमित संख्या १६ हजार ७९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी गएको २४ घण्टामा ४३१ जना निको भएर घर फर्किएको जनाएको छ। यो सँगै निको भएर घर फर्कनेको संख्या आठ हजार ४४२ जना छन्।
मन्त्रालयका अनुसार, अझै २४ हजार ९७ जना क्वारेन्टिनमा छन् भने आठ हजार २३९ जना आइसोलेसनमा छन्। हालसम्म २५ प्रयोगशालाबाट दुई लाख ७९ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ।