शुक्रबार आएको बाढी, पहिरोबाट २३ को मृत्यु, ३४ बेपत्ता, भोलि पनि मेघ गर्जनसहित वर्षा हुने
शुक्रबार आएको बाढी, पहिरोले ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी जिल्लामा ठूलो धनजनको क्षति भएको छ।
बाढी र पहिरोमा परेर २३ जनाकाे मृत्यु भएको छ । ३४ जना अझै बेपत्ता रहेकाे र कयाैं घाइते भएका छन्।
शुक्रबार सबैभन्दा बढी मानवीय क्षति म्याग्दी, कास्की र जाजरकोटमा भएको छ । जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । पाँचजना बेपत्ता रहेका छन् । पोखराकाे सराङ्कोटमा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ।
म्याग्दीमा पनि बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता रहेका छन्। यसैगरी लमजुङको बेंसीशहरमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आजकाे बाढी पहिराेले रुकुम पश्चिममा दुईजनाकाे मृत्यु भएकाे छ।
यस्तै गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा पनि यसैगरी धनजनको ठूलाे क्षति भएको थियो। सिन्धुपाल्चाेकमा बुधबार दुईजनाकाे मृत्यु भएकाे थियाे भने २० जना अझै हराइरहेका छन्।
भोलि दिउँसो देशभर बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ।
शनिबार राति पनि सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ।