रु. ७७ करोड राजस्व छल्ने कम्पनीहरु विरुद्ध मुद्दा दायर
राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा जिमी ग्रुपसहितका विभिन्न फर्म, कम्पनी र व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यी फर्म, कम्पनी र व्यक्तिले करीब रु. ७७ करोड राजस्व छलेको विभागले जनाएको छ।
जिमी ग्रुपले वस्तु तथा सेवा नै खरीद नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको फेला परेको विभागले जनाएको छ । जिमी ग्रुपका सञ्चालक विरुद्ध विभागले रु. १८ करोड ३३ लाख बिगो असुल गरी यसको दोब्बर जरिवाना एवं कैदको सजाय माग गरेको छ।
त्यस्तै, विदेशबाट मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं टोखाका मयूर मालाकारसहित दुई जनाविरुद्ध पनि रु. ४३ करोड १८ लाख ९५ हजार बिगो तोकी जरिवाना र हदैसम्मको सजाय माग गर्दै विभागले मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौंको महाबौद्धमा ठेगाना राखेको समर ट्रेडर्सले पनि रु. ४ करोड ५८ लाख राजस्व छलेको अभियोग लगाउँदै प्रोपाइटर गौतम सरार्फ तथा फर्मको ब्यांक खाता सञ्चालन गर्ने राधाकृष्ण प्रसाद तराहालाई बिगो रकम जरिवाना र ब्याज समेत असुल गरी हदैसम्म कैद सजाय माग गरको छ।
न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेजले पनि झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी रु. १ करोड ७० लाख १९ हजार राजस्व छलेको अभियोग लागेको छ । विभागले यो कम्पनीविरुद्ध बिगो असुल गरी जरिवाना र कैद सजायको माग गरेको छ।
त्यसैगरी झुटा तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक प्रयोग गरी करीब रु. ९ करोड २३ लाख राजस्व छल्ने ललितपुरको न्यू क्रियसन इम्पेक्स, बंगलामुखी ट्रेड एण्ड सप्लाइ तथा काठमाडौंको बीएस ट्रेड इन्टरनेशनलविरुद्ध पनि बिगो असुल गरी जरिवाना तथा कैद सजाय माग गर्दै विभागले मुद्दा दायर गरेको छ।