आईजीपीलाई बधाई दिन प्रहरी मुख्यालय पुगे प्रधान सेनापति
प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन्।
आज प्रहरी मुख्यालय पुगेर प्रधान सेनापतिले नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा सफल कार्यकालको शुभकामना दिएका हुन्।
भेटघाटका अवसरमा प्रधान सेनापति थापा र प्रहरी महानिरीक्षक क्षेत्री बीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रधान सेनापतिले प्रहरी महानिरीक्षकलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेको तथा प्रहरी महानिरीक्षक क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप 'मोमेन्टो' प्रदान गरेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ।
सेनापतिहरू प्रहरी प्रमुखलाई भेट्न प्रहरी मुख्यालय पुग्ने प्रचलन भए पनि बधाई दिन पुगेको भने नौलो अभ्यास भएको प्रहरी अधिकारीहरू बताउँछन्।