भारतीय सञ्चारमाध्यमले आचारसंहिता नाघे, कारवाही गर्न भारतीय पक्षलाई प्रेस काउन्सिलको पत्र
नेपाल प्रेस काउन्सिलले भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र सरकार प्रमुखको विषयमा चरित्रहत्या गर्ने उद्देश्यका अतिरञ्जित सामग्रीहरु सम्प्रेषण गरेको भन्दै आवश्यक कारवाहीका लागि प्रेस काउन्सिल अफ इण्डिया (भारतीय प्रेस परिषद) लाई पत्र पठाएको छ।
शुक्रबार प्रेषित उक्त पत्रमा भारतीय सञ्चारमाध्यमहरुलाई पत्रकारिता आचारसंहिताभित्र रहेको समाचार सम्प्रेषण गर्न परिषद्लाई सहजीकरणको आग्रह पनि गरिएको छ।
काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठद्वारा परिषद्का समकक्षी चन्द्रमौली कुमार प्रसादलाई लेखिएको पत्रमा लिम्पियाधुरासहितको नेपालको भौगोलिक नक्शा सार्वजनिक भएसँगै भारतीय सञ्चारमाध्यम यसखालका असत्य समाचार प्रकाशन र प्रशारणमा लागेको भनिएको छ।
काउन्सिलले पत्रमा हालैमात्र जी न्यूजमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्ध बारे अनैतिक टिप्पणी गरेको र यसले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अस्तित्वमा समेत प्रहार गरेको भन्दै भारतीय पक्षको ध्यानाकर्षण गराएको छ।
भारतीय सञ्चारमाध्यम खासगरी टेलिभिजनले यस्ता आधारहीन सामग्री फैलाइरहेकै कारण नेपालमा भारतीय समाचार च्यानल बन्द भएको स्मरण गराउँदै काउन्सिलले यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको दायरामा ल्याउन नियामक निकाय अग्रसर हुन अनुरोध समेत गरेको छ।
“सञ्चारमाध्यमका यस्ता सामग्रीले दुई देशका नागरिकको युगौंदेखिको परम्परको सुमधुर सम्बन्धमा खलल पार्ने कुचेष्टा गरिरहेका छन् । हामी तत्काल उनीहरुमाथि कारवाही गर्ने वा आचारसंहितामा कायम रहन सहजीकरण गर्न भारतीय पक्षलाई आग्रह गर्दछौं”, पत्रमा लेखिएको छ।