समाचार शुक्रबार, असार २६, २०७७

बाढीले पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध

हिमालखबर

बाढीले पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध
बाढीले बगाएको रघुगंगामाथिको बेलिब्रिज। तस्वीरः म्याग्दी अनलाइन

गए रातिदेखि परेको अविरल वर्षापछि रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडकको पुल बगाएको छ। बाढीले गलेश्वरमा रहेको बेलीब्रिज बगाएपछि सडक अवरुद्ध भएको स्थानीय न्यूज पोर्टल म्याग्दी अनलाइनले जनाएको छ।

यो हिमाली जिल्ला मुस्ताङ जोड्ने प्रमुख सडक हो। बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिज बगाएको हो। उक्त पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाटको सिमानामा छ।

पहिरोले रघुगंगा गाउँपालिका तर्फको सडकमा क्षति पुर्‍याएपछि त्यतातर्फको पुल नदीमा खसेको छ। उक्त बेलिब्रिज नजिकैको झोलुङ्गे पुल पनि जोखिममा परेको छ। राहुघाटमा रहेका २१ घरधुरी जोखिममा परेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई उद्धृत गर्दै म्याग्दी अनलाइनले जनाएको छ।

बेलिब्रिज बगाएपछि म्गाग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिकासँगै मुस्ताङसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ। उक्त ठाउँबाट सदरमुकाम बेनी लगिएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ।

 

प्रतिकृया दिनुहोस