पक्राउपछि प्रहरी कारबाहीमा मारिए विकास दुबे
उत्तर प्रदेशको कानपुरका ‘गुण्डा नाइके’ विकास दुबे भारतीय प्रहरीसँगको मुठभेडमा मारिएका छन्। हतियार खोस्ने प्रयास गरेपछि प्रहरीको जवाफी कारबाहीमा शुक्रबार बिहानै उनी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उत्तर प्रदेशको स्पेसल टास्क फोर्स उनलाई उज्जैनबाट कानपुर लगिरहेको थियो। तर, कानपुर आउनु १७ किलोमिटर वर बर्रा थाना क्षेत्रमा बिहान ६ः३० बजेतिर उनलाई लिएर हिँडेको गाडी पल्टिएको थियो।
दुर्घटनापछि उनले पुलिसको पेस्तोल खोसेर आक्रमणको प्रयास गरेको बताइएको छ। त्यसपछि प्रहरीको जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएका थिए। उनको छातीमा र कम्मरमा दुई गोली लागेको थियो।
उनलाई टास्क फोर्सले नै अस्पताल लगेको थियो। तर, अस्पतालले उनलाई बिहान ७ः५५ मा मृत घोषित गरेको थियो।
यो पनि पढ्नुहोस्- आठ भारतीय प्रहरीको हत्या गर्ने विकास दुबे नाटकीय ढंगबाट पक्राउ
उनलाई बिहीबार मध्य प्रदेश प्रहरीले उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो। गिरफ्तारको बेलामा प्रहरीले हत्या गर्ने आशंकामा उनले बारम्बार ‘म विकास दुबे, कानपुरवाला’ भनेर कराएका थिए। तर, उनलाई प्रहरीले चुप लगाएको थियो।
मध्य प्रदेश प्रहरीले उत्तर प्रदेश प्रहरीलाई बिहीबारै उनलाई सुपुर्दगी गरेको थियो। त्यसपछि उनलाई कानपुर ल्याइँदै थियो।
उनलाई बोकेको गाडी भारी वर्षाका कारण पल्टिएको बताइएको छ। उक्त दुर्घटनामा दुई प्रहरी पनि घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले ट्विट गर्दै घटनाप्रति शंका जनाएका छन्। उनले लेखेका छन्, “वास्तवमा कार पल्टिएको थिएन, गोप्यता खुल्नबाट रोकेर सरकार पल्टनबाट जोगिएको छ।”