समाचार विहीबार, असार २५, २०७७

नेकपा दोस्रो तहका नेताहरुको आग्रहः धर्ना जुलुस रोकौं

हिमालखबर

नेकपा दोस्रो तहका नेताहरुको आग्रहः धर्ना जुलुस रोकौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले पार्टी एकतालाई असर पार्नेगरी सडक प्रदर्शन, धर्ना रोक्नुपर्ने निष्कर्ष निकालेका छन्।

बिहीबार साँझ कृषि मन्त्रालयमा बसेको दोस्रो तहका नेताहरुले पार्टी विभाजनलाई प्रोत्साहन गर्नेगरी सामाजिक सञ्जाल लेख्ने कार्य समेत रोक्नुपर्ने निष्कर्ष निकालेका छन्।

कृषि मन्त्री रहेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको संयोजनमा दोस्रो तहका नेताहरुको यो दोस्रो बैठक हो।

यसअगाडि मन्त्री भूसालकै क्वाटरमा बसेको भेलाले एकताललाई जोड दिन आग्रह गरेको थियो। भेला पछि दोस्रो तहका नेताहरुको तर्फबाट भूसालले अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमकल दाहाल लगायत शीर्ष नेताहरुलाई भेटेका थिए।

बिहीबारको छलफल पछि भूसालले दोस्रो तहका नेताहरु एकतालाई असर पार्ने सबै गतिविधि रोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय भएको बताए। “पार्टी फुट्दैन भन्नेमा ढुक्क हुनुहोस्, हामी यसबारे थप छलफल गर्छौ”, उनले भने।

केही दिन यता प्रधानमन्त्री ओलीको पक्षमा सडक प्रदर्शन भइरहेको छ। दोस्रो तहका नेताहरुको छलफलमा भूसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, मणि थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, टोपबहादुर रायमाझी लगायत एघार जना जुटेका थिए।

प्रतिकृया दिनुहोस