नेपालमा १०० मध्ये ४० जनाले गर्छन् मदिरापान
नेपालमा दुईमध्ये एक जनाले सूर्तीजन्य पदार्थ (धूमपानसहित) सेवन गर्ने गरेको एक अध्ययनले देखाएको छ।
केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार, १५–४९ वर्ष समूहका पुरुषहरुमध्ये ४५.२ प्रतिशतले सर्वेक्षणको अघिल्लो महीनामा सूर्तीजन्य पदार्थको सेवन गरेको देखाएको हो । जबकि, सोही उमेर समूहका ६.१ प्रतिशत महिलाले मात्र सर्वेक्षणभन्दा अघिल्लो महीना सूर्तीजन्य पदार्थ सेवन गरेको अध्ययनले देखाएको छ । यसको अर्थ, १५–४९ उमेर समूहका दुईमध्ये एक पुरुषले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको आकलन गर्न मिल्छ।
अध्ययनले १५–४९ वर्ष समूहका ४०.६ प्रतिशत पुरुषले महीनाको कम्तीमा एक दिन मदिरा सेवन गर्ने देखाएको छ । त्यस्तै, सोही उमेर समूहका ९.१ प्रतिशत महिलाले महीनाको कम्तीमा एक पटक मदिरा सेवन गर्ने गरेको देखाएको छ । ७.९ प्रतिशत पुरुष र ५ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै पहिलो पटक मदिरा सेवन गरेको सर्वेक्षणले पत्ता लगाएको छ।
बाल मृत्युदरमा व्यापक सुधार
नेपालमा पछिल्ला वर्षहरुमा बाल मृत्युदरमा व्यापक सुधार आएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका अनुसार, प्रति एक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष नपुग्दै मृत्यु हुनेको संख्या २५ मा झरेको छ । २०७१ सालमा यो संख्या ३३ थियो।
त्यस्तै, ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजारमा २८ जनामा झरेको छ । २०७१ सालमा जीवित जन्मेका एक हजार बालबालिकामध्ये ५ वर्ष नपुग्दै ३८ जनाले ज्यान गुमाउँथे । त्यसैगरी, एक हजार जीवित जन्मिएका बालबालिकामध्ये एक महीना नपुग्दै मृत्यु हुने नवजात शिशुको संख्या १६ मा ओर्लिएको छ । यो संख्या २०७१ सालमा २३ जना थियो । नवजात शिशु मृत्युदर सबैभन्दा धेरै सुदूरपश्चिममा प्रति एक हजार जन्ममा २५ छ भने सबैभन्दा कम वागमती प्रदेशमा ९ जना छ।
सर्वेक्षणले कुल प्रजनन दर प्रति महिला (१५–४९ वर्ष) ले दुई बच्चा जन्माएको देखाएको छ । दुईमध्ये एक हालै विवाहित महिलाले परिवार नियोजनको परम्परागत र आधुनिक विधि प्रयोग गरेको देखाएको छ ।
बालबालिकाको पोषण स्थितिमा पनि क्रमशः सुधार भइरहेको सर्वेक्षणले देखाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उमेर अनुसार तौल कम भएका र उँचाइ कम भएका (पुड्का) बालबालिकाको संख्या क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशतमा ओर्लिएको छ । २०७१ सालमा तौल कम भएका र पुड्का बालबालिकाको संख्या क्रमशः ३०.१ र ३७.५ प्रतिशत थियो । तौल कम भएका बालबालिकाको संख्या सबैभन्दा धेरै कर्णालीमा ३७.४ प्रतिशत र सबैभन्दा कम वागमती प्रदेशमा सबैभन्दा कम ११.१ प्रतिशत छ।
अध्ययनले प्राथमिक तह (कक्षा १–५) मा भर्ना हुनुपर्ने ५.६ प्रतिशत बालबालिका विद्यालय बाहिर नै रहेको देखाएको छ । त्यस्तै, निम्न माध्यमिक तह (६–८ कक्षा) र माध्यमिक तह (९–१२ कक्षा) मा हुनुपर्ने क्रमशः ४.३ र १५.१ प्रतिशत बालबालिका कक्षा बाहिरै रहेको देखाएको छ । यसले ठूलो संख्याका बालबालिकाले औपचारिक शिक्षाको अवसर गुमाइरहेको देखाएको छ।
सर्वेक्षणले १५–२४ उमेर समूहका ५० प्रतिशत युवती र सोही उमेर समूहका ५६.४ प्रतिशत युवाले गएको वर्षभन्दा आगामी वर्ष जीवनस्तर राम्रो हुने अपेक्षा गरेका छन् । यसको अर्थ, करीब आधा युवा भविष्यबारे आशावादी नरहेको देखाउँछ।
त्यस्तै, १५–४९ उमेर समूहका ६४.७ प्रतिशत पुरुष र ६२.४ प्रतिशत महिलाले जीवनबारे ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) नेपालको प्राविधिक र आर्थिक सहयोगमा तथ्यांक विभागले गरेको सर्वेक्षणमा देशभरिको शहर र गाउँ गरी ५१२ गणना क्षेत्रबाट १२ हजार ८ सय परिवारबाट तथ्यांक संकलन गरिएको थियो । विभागले सर्वेक्षणको नतिजा २४ असारमा सार्वजनिक गरेको हो।