'नेपाल सरकार र प्रधानमन्त्रीबारे भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघ्यो !'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यममा नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे अभद्र टीका-टिप्पणी गरिएकोप्रति आपत्ति प्रकट गरेका छन्।
आज दिउँसो ट्वीट मार्फत नेता श्रेष्ठले भारतीय सञ्चारमाध्यमको अनर्गल प्रचारले सीमा नाघेको भन्दै लेखेका छन्, 'हद भयो। बकवास बन्द गर।'
राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरु एकढिक्का रहेको पनि प्रवक्ता श्रेष्ठले प्रष्ट पारेका छन्। पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले नेपालमा के गर्ने भन्ने आन्तरिक विषय भएको उल्लेख गर्दै ट्वीटमा लेखेका छन्, 'विदेशीको फुटाऊ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं।'
नेकपाभित्र चर्किएको विवाद समाधानका लागि केही दिनयता अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भइरहँदा अन्य भेटघाट पनि बाक्लिएको छ । खासगरी प्रधानमन्त्री ओलीसँग नेपालस्थित चिनियाँ राजदूत होऊ यान्छीको भेटपछि भारतीय टेलिभिजन च्यानलहरुले दुवै जनालाई जोडेर अतिरञ्जित, भ्रामक र अशोभनीय समाचार सामग्री प्रस्तुत गर्दैै आएका छन्।
भारतीय सञ्चारमाध्यमको अमर्यादित समाचार र टिप्पणीप्रति सरकारका मन्त्रीले पनि प्रतिक्रिया व्यक्त गरेका छन्। पर्यटन, संस्कृति तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चार माध्यमका समाचार तथा टिप्पणीहरुले पूर्वीय सभ्यताकै उपहास गरिरहेको टिप्पणी गरेका छन्।
मन्त्री भट्टराईले ट्वीटमा लेखेका छन्, 'उनीहरु (भारतीय सञ्चारमाध्यम) ले आफैंलाई सरेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरुको चिन्तनप्रति !'