आठ भारतीय प्रहरीको हत्या गर्ने विकास दुबे नाटकीय ढंगबाट पक्राउ
भारतको उत्तर प्रदेशस्थित कानपुर क्षेत्रलाई आधार बनाएर लूट, डकैती र हत्याका घटना गर्दै आएका कुख्यात अपराधी विकास दुबे आज बिहान नाटकीय ढंगबाट पक्राउ परेका छन्।
गएको १८ असारमा आठ प्रहरीको हत्या गरेको घटनाका आरोपित 'मोस्टवान्डेट' सूचीका दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुबेले सञ्चारमाध्यम र प्रहरीलाई बोलाएर आत्मसमर्पण गरेको बताइएको छ।
भास्करका अनुसार, दुबेले आज बिहान उज्जैनस्थित बाबा महाकालको मन्दिर पुगेर दर्शनका लागि भारु २५० मा 'भीआईपी' रसिद काटेका थिए । रसिदमा उनले आफ्नो नाम विकास दुबे नै लेखाएका थिए।
मन्दिरको दर्शनपछि त्यहाँ रहेका सुरक्षा गार्ड नजिकै भएर उनले आफू कानपुरवाला विकास दुबे भएको भन्दै पक्राउ गर्न भनेका थिए । गार्डले शंका लागेर सोधपुछका लागि रोक्दा आनाकानी गरेको र त्यसपछि प्रहरीलाई बोलाएको बताएका छन् । केहीबेरमा प्रहरी आएर दुबेलाई पक्राउ गरेको थियो।
दुबे आफैं प्रहरीसमक्ष आत्मसमर्पण गर्न गएको पनि कतिपय सञ्चारमाध्यमले जनाएका छन्।
यो पनि पढ्नुहोस्- आठ भारतीय प्रहरीको हत्या गर्ने विकास दुबे को हुन् ?
आजतकका अनुसार, आफूले आत्मसमर्पण गर्न लागेकोबारे दुबेले स्थानीय सञ्चार माध्यमलाई खबर गरेका थिए । सञ्चार माध्यमहरुका प्रतिनिधिहरु महाकाल थाना नजिकैको महाकाल मन्दिर अगाडि पुगेपछि उनी 'म कानपुरवाला विकास दुबे हुँ' भन्दै चिच्याएका थिए । यसको केहीबेरमा आएको प्रहरीले उनलाई पक्राउ गरेर लगेको थियो।
यूपी प्रहरीले दुबेको गिरफ्तारीको पुष्टि गरेको छ।
१८ असारको राति दुबेलाई पक्राउ गर्न कानपुरको बिठुर थाना क्षेत्र गएको प्रहरीमाथि उनको समूहले गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। घटनामा दुबेका दुई सहयोगी पनि मारिएका थिए।
उक्त घटनापछि उत्तर प्रदेशसहित तीन राज्यको प्रहरीले दुबेको खोजी गरिरहेको थियो । एक सातादेखि उनी प्रहरीको आँखा छलेर दिल्ली, नोएडा, फरिदाबाद र मध्य प्रदेशमा बसिरहेको खबरहरु आएका थिए । उनी नेपालमा लुकेर बसेको आशंका समेत गरिएको थियो।
यो पनि पढ्नुहोस्- विकास दुबे नेपालमा लुकेको शिवसेनाको दाबी गलत, फरिदावादको होटलमा देखिए
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास दुबे मध्यप्रदेश प्रहरीको हिरासतमा रहेको बताउँदै उनका दुई साथी पनि पक्राउ परेको बताएका छन्। दुबे कसरी पक्राउ परे भन्ने विषयमा बताउन भने उचित नभएको उनले बताए।
कानपुरको चौबेपुर थानामा दुबे विरुद्ध हत्या, हत्या प्रयास लगायतका ६० भन्दा बढी उजुरी दर्ता छन् । दुई दशकदेखि अपराधमा जोडिएका उनी कैयौं पटक गिरफ्तारीमा परे पनि सजायविना रिहा भएका थिए। चौबेपुर थाना क्षेत्रको बिकारु गाउँका बासिन्दा रहेका दुबेले आफ्नो समूह बनाएर कानपुर नगरमा लूट, डकैती र हत्या जस्ता अपराध बढाएका थिए। - एजेन्सी