नागरिक उड्डयन क्षेत्रका लागि एडीबीको रु. ६ अर्ब ऋण
एशियाली विकास ब्याङ्क (एडीबी) ले नागरिक उड्डयन क्षेत्रको विकासका लागि ५० मिलियन अमेरिकी डलर (करीब रु. ६ अर्ब) ऋण सहायता दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच यो ऋण सहायताका विषयमा आज अर्थ मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र एडीबीका तर्फबाट नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरे।
एडीबीले पोलिसी बेस्ड लेण्डिङ अन्तर्गत दिन लागेको यो ऋण नेपालको नागरिक उड्डयन क्षेत्रको सुरक्षामा सुधार, नियामकीय सुधार तथा सञ्चालनको प्रभावकारिताका लागि खर्च हुनेछ । ३० जुन २०२३ सम्ममा यो ऋण सहायता खर्च गर्ने सम्झौतापत्रमा उल्लेख छ।