नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न पाएका छन्।
गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे।
२३ असारको मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको थियो।
३० वर्षे सेवाअवधिका कारण निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले हिजोदेखि अनिवार्य अवकाश पाएपछि सरकारले क्षेत्रीलाई आईजीपी नियुक्त गरेको हो। निवर्तमान आईजीपीको हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिदाइ गरिएको छ।
नवनियुक्त आईजीपी थापाको अहिले प्रहरी प्रधान कार्यालयमा स्वागत भइरहेको छ। उनले आजैबाट महानिरीक्षकको कार्यभार सम्हाल्नेछन्।
थापाले १९ वैशाख २०७९ सम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।