कोरोना संक्रमण देखिएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा तीन वडामा अत्यावश्यक बाहेकका सेवा बन्द
ललितपुरको महालक्ष्मी नगरपालिकाले पछिल्ला दिनमा नगरक्षेत्रभित्र कोरोनाभाइरसको संक्रमण बढेपछि आजदेखि अत्यावश्यक सेवा बाहेकका पसल, उद्योग-व्यवसाय बन्द गराएको छ।
वडा नम्बर ८ मा संक्रमितको संख्या बढिरहेका वेला नगरपालिकाले वडा नम्बर ७, ८ र ९ भित्रका औषधि र खाद्यान्न पसल बाहेक सम्पूर्ण उद्योग-व्यवसाय बन्द गर्ने निर्णय गरेको हो। खाद्यान्न पसल बिहान ७ बजेदेखि ९ बजेसम्म खोल्ने व्यवस्था गरिएको छ, जसमा भौतिक दूरी कम्तिमा एक मिटर कायम गरी किनमेल गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
ती वडामा स्वास्थ्य संस्था बाहेकका सबै सरकारी र गैरसरकारी कार्यालय, ब्याङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने जरुरी सेवा बाहेक सबै सेवा बन्द गराएको छ।
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन र निस्किंदा मास्क प्रयोग गरी अरुसँग कम्तिमा एक मिटरको भौतिक दूरी कायम गर्न पनि नगरपालिकाले तीन वटा वडाका बासिन्दालाई आग्रह गरेको छ।