सिन्धुपाल्चोकमा बाढी : दुईको मृत्यु, १८ जना बेपत्ता
अविरल वर्षापछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ स्थित जम्बु बजार बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १८ जना बेपत्ता भएका छन्।
हिजो साँझदेखि भएको वर्षापछि याल्मो खोलामा आएको बाढीले ११ घर बगाउँदा जनधनको क्षति भएको बाह्रबिसे नगरपालिकाकी उप-प्रमुख सुशीला पाख्रिनले बताइन्। स्थानीयका अनुसार, जम्बु निवासी २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको छ।
घटनास्थल बाह्रबिसे बजारदेखि ३ किलोमिटर उत्तर तातोपानीतर्फ पर्छ। पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध गरेका कारण बाह्रबिसे बजारबाट घटनास्थलतर्फ जान सक्ने अवस्था नरहेको जनाइएको छ। केही घाइतेलाई उपचारका लागि बोकेर ल्याउने प्रयास भइरहेको उपप्रमुख पाख्रिनले बताइन्।
जम्बुका साथै बाह्रबिसे नगरपालिकाको खाकडोल खोलामा आएको बाढीले पनि क्षति गरेको छ । यस्तै, भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पनि बाढीले क्षति पुर्याएको छ। भोटेकोशी गाउँपालिका-५ स्थित बुल्कोटेमा बाढीले चार वटा घर बगाउँदा चार जना बेपत्ता भएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन् । त्यहाँ बाढीका कारण दुई जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, सिन्धुपाल्चोक र बाह्रबिसे क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ । भोटेकोशी बाढी मापन केन्द्रमा राति १२.३० बजे जलसतह ०.५ मिटर घटेको थियो । त्यसको २० मिनेटपछि जलसतह १.१ मिटर बढेको थियो । प्राधिकरणले भोटेकोशी नदी थुनिएर ठूलो बाढी आएको अनुमान गरेको छ।
आज बिहान १० बजेसम्म भोटेकोशी र सुनकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता उपनाउन प्राधिकरणले आग्रह गरेको छ।