आज पनि विना निष्कर्ष सकियो ओली–दाहालको छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको भेटघाट सकिएको छ । साँझ ५ बजेदेखि शुरू बैठक करीब २ घण्टासम्म चलेको थियो।
बैठकमा भएको छलफलको विषयमा ठोस जानकारी सार्वजनिक गरिएको छैन । तर, छलफललाई जारी राख्ने सहमति भएको जनाइएको छ।
१० असारदेखि शुरू पार्टीको स्थायी समिति बैठकमा विवाद उत्पन्न भएपछि बैठक लगातार स्थगित हुँदै आइरहेको छ । मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेताहरूलाई भारतीय दूतावाससँग जोड्दै सरकार ढलाउने खेल भइरहेको भनेर अभिव्यक्ति दिएपछि बैठकको कार्यसूची नै बिथोलिएको थियो।
त्यसपछि बसेको बैठकमा बोल्ने बहुमत स्थायी समिति सदस्यहरूले ओलीको उक्त अभिव्यक्तिको आलोचना गरेपछि जारी बैठक स्थगित भएको थियो । त्यसपछि शीर्ष नेताहरूले पटकपटक छलफल गरेपनि प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नमानेपछि बैठक स्थगित हुँदै आइरहेको छ।
विवाद समाधानका लागि अध्यक्षद्वय ओली र दाहाल पटकपटक छलफलमा बसे पनि समाधान निस्किन सकेको छैन । दैनिकजसो चलिरहेको अध्यक्षद्वयको भेटघाट झैं बुधबारको छलफलमा पनि कुनै निष्कर्ष निस्किन नसकेको जनाइएको छ।
आज स्थगित भएको नेकपाको स्थायी समिति बैठक २६ असारसम्मका लागि सारिएको छ।