पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको ज्ञापनपत्र
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ।
बन्दाबन्दीको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापनपत्र बुझाएको हो।
नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । बन्दाबन्दीको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानवीय कार्य भएकाले मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए।
पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न नेविसंघले माग गरेको छ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए । अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उनले आग्रह गरे।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए । मागहरु सकारात्मक भएको उल्लेख गर्दै उनले साना कुरालाई पनि विवादित गरेर निगमलाई कमजोर बनाउने ठूलो तप्का लागिपरेको बताए। उनले मूल्यवृद्धिलाई नियमित प्रक्रियाको रुपमा लिन आग्रह समेत गरे।
निगमले १६ असारमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापनपत्र बुझाएको हो।