समाचार बुधबार, असार २४, २०७७

'पूर्वाधारको विकासविना आयुर्वेद विश्वविद्यालयको औचित्य छैन'

हिमालखबर

'पूर्वाधारको विकासविना आयुर्वेद विश्वविद्यालयको औचित्य छैन'

आयुर्वेद क्षेत्रका सरोकारवालाहरूले आयुर्वेद पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको बताएका छन्।

संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरूले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका हुन्।

पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको कारण पनि पर्याप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरु नहुनु नै रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले नेपालमा अहिले सम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझै पनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरु नरहेको बताए।

उनले देशभित्र पर्याप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने बताए। उनले नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर प्रभावकारी नदेखिएको बताए।

कलेज खोल्ने तर ओपीडी बाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनका लागि पनि चुनौती रहेको बताए।

आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा. राजकिशोर साहले पनि आयुर्वेद विश्वविद्यायल सञ्चालन गर्नका लागि सबैभन्दा पहिला आयुर्वेद अस्पताल, आयुर्वेद फार्मेसी, औषधि उत्पादन कम्पनी लगायतका पूर्वाधारको आवश्यकता पर्ने बताए । विश्वविद्यालय खोल्न अनिवार्य भएपनि सरकारले पूर्वाधारको तयारी नगरीकन खोल्न नहुने बताए । उनले अहिले सम्म आयुर्वेद नर्सिङको क्षेत्रमा पनि कुनै काम हुन नसकेको बताए।

नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले आयुर्वेदबाट पनि उपचार हुन्छ र ? भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि विश्वविद्यालय खोल्नुपर्ने धारणा राखे । उनले आयुर्वेद चिकित्सा शिक्षाप्रति अहिले भइरहेको दृष्टिकोण परिवर्तन गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने हो भने आयुर्वेद क्षेत्र धेरै माथि पुग्ने बताए।

छलफलमा सांसदहरूले प्राचीन दर्शनमा आधारित आयुर्वेद क्षेत्रको विकास र विस्तारका लागि विश्वविद्यालय आवश्यक रहेको बताएका छन्।

सरकारले पनि प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यावहारिक तथा व्यावसायिक बनाउने उद्देश्यका साथ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गरी विधेयक ल्याएको हो । विधेयकले आयुर्वेदिक चिकित्सामा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय आवश्यक रहेको भनेको छ।

विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयमा आवश्यकता अनुसार आयुर्वेद, आयुर्वेद नर्सिङ, जडिबुटी, योग शिक्षा, प्रकृतिक चिकित्सा लगायतका स्कूल कलेजहरु सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ।

यस्तै आयुर्वेद अनुसन्धान केन्द्र, आयुर्वेद शिक्षण अस्पताल लगायत पनि सञ्चालन गर्न पाउने छ।

प्रतिकृया दिनुहोस