बुधबार भेटिए थप २५५ जना कोरोना संक्रमित, २५३ जना डिस्चार्ज
बुधबार नेपालका विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा २५५ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १६४२३ पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार २५३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ। बुधबार ४६९६ गरी आजसम्म पीसीआर विधिबाट २६६४५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८६३६ जना उपचाररत रहेका छन् भने क्वारेन्टिनमा २५०४० जना रहेका छन्।
सरकारले स्थानीय तहहरुबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बापत शुल्क लिइरहेको खबर आएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।
सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठाउन आग्रह गरेको हो।