बालुवाटारमा ओली र दाहालबीच छलफल शुरू
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद समाधानका लागि पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल शुरू भएको छ ।
१० असारदेखि शुरू पार्टीको स्थायी समिति बैठकमा विवाद उत्पन्न भएपछि लगातार स्थगित हुँदै आइरहेको छ । मदन भण्डारी जयन्तीको अवसरमा आयोजीत कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेताहरूलाई भारतीय दूतावाससँग जोड्दै सरकार ढलाउने खेल भइरहेको भनेर अभिव्यक्ति दिएपछि बैठकको कार्यसूची नै बिथोलिएको थियो ।
त्यसपछि बसेको बैठकमा बोल्ने बहुमत स्थायी समिति सदस्यहरूले ओलीको उक्त अभिव्यक्तिको आलोचना गरेपछि जारी बैठक स्थगित भएको थियो । त्यसपछि शिर्ष नेताहरूले पटकपटक छलफल गरेपनि प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नमानेपछि बैठक स्थगित हुँदै आइरहेको छ ।
बैठक सूचारू र विवाद समाधानका लागि अध्यक्षद्वय ओली र दाहाल पटकपटक छलफलमा बसे पनि समाधान निस्किन सकेको छैन । दैनिकजसो चलिरहेको अध्यक्षद्वयको भेटघाटमा बुधबार वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने एक नेताले हिमाललाई जानकारी दिए । यद्यपि, ओली र दाहालबीच बालुवाटारमा छलफल शुरू भइसक्दा समेत नेता नेपाल भने बालुवाटार नपुगेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
आजका लागि स्थगित भएको नेकपाको स्थायी समिति बैठक २६ असारसम्मका लागि स्थगित भएको छ।