विकास दुबे नेपालमा लुकेको शिवसेनाको दाबी गलत, फरिदावादको होटलमा देखिए
उत्तर प्रदेशको कानपुरमा आठ जना भारतीय प्रहरीको हत्यापछि विकास दुबे नेपालमा लुकेको भारतको शिवसेना पार्टीको दाबी गलत साबित भएको छ। शिवसेनाले यस्तो दाबी गरेको भोलिपल्टै २३ असारमा दुबे हरियाणाको फरिदावादस्थित एक होटलमा देखिएका छन्।
अघिल्लो दिन २२ असारमा शिवसेनाले भारत र नेपालबीच अहिले बिग्रिएको सम्बन्धको फाइदा उठाउँदै दुबे नेपालतिर भागेको दाबी गरेको थियो। त्यति मात्र नभइ शिवसेनाले भारतका लागि भविष्यमा उनी ‘नेपालको दाउद इब्राहिम’ बन्न सक्ने चेतावनीसमेत दिएको थियो। दाउदले पाकिस्तानमा बसेर भारतमा आपराधिक गिरोह चलाएको विश्वास गरिन्छ।
शिवसेनाको आधिकारिक मुखपत्र ‘साम्ना’ मा दुबे नेपाल आएको दाबी गरेको भोलिपल्टै २३ असारमा उनी फरिदावाद पुगेको तथ्य सार्वजनिक भएको हो। उनी फरिदावादको एक होटलको सीसीटीभी फुटेजमा देखिएका छन्। तर, प्रहरी त्यहाँ पुग्नुअघि नै फरार भएका थिए।
यो पनिः विकास दुबेकी आमा भन्छिन्– उसको इन्काउन्टर गरिदिनू, मलाई दुःख लाग्दैन
दैनिक भाष्करले स्रोतलाई उधृत गर्दै लेखेको समाचार अनुसार उनी फरिदावादको सेक्टर–८७ मा आफन्तको घर पुगेका थिए। आफ्ना साथी अंकुर र प्रभातलाई भने होटलमा राखेका थिए। उनीहरुलाई भेट्न दुबे होटल गएका थिए।
उनी होटल पुगेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । तर दुबे भागिसकेका थिए। प्रहरीले अंकर र प्रभातलाई भने पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले दुई वटा पेस्तोल बरामद गरेको छ।
यसैबीच प्रहरीसँगको मुठभेडमा विकास दुबेका निकट सहयोगी अमर दुबे मारिएका छन्। उत्तर प्रदेश पुलिसको स्पेशल टास्क फोर्सले हमिरपुरमा उनको हत्या गरेको हो। उनलाई विकास दुबेको ‘दाहिने हात’ मानिन्थ्यो।
अमर आठ प्रहरीको हत्या हुँदा पनि विकाससँगै रहेको मानिन्छ। प्रहरीले अमरको सुराकी दिनेलाई २५ हजार भारतीय रुपैयाँको पुरस्कार घोषणा गरको थियो।
अमरसँग भएको भिडन्तमा दुई प्रहरी घाइते छन्। उनको साथबाट स्वचालित बन्दुक बरामद भएको छ। प्रहरीले आत्मसमर्पण गर्न दिएको चेतावनीलाई बेवास्ता गर्दै अमरले फायर खोलेपछि भिडन्त भएको प्रहरीको भनाइ उधृत गर्दै दैनिक भाष्करले उल्लेख गरेको छ।
प्रहरीले विकासका साला ज्ञानेन्द्र प्रकाशलाई मध्यप्रदेशको शहडोलबाट गिरफ्तार गरेको छ। त्यस्तै विकासका साथी विकास बाजपेई र श्यामु बाजपेयीलाई पनि पक्राउ गरेको छ।
यो पनिः आठ भारतीय प्रहरीको हत्या गर्ने विकास दुबे को हुन्?