पार्टी निर्णयविरुद्ध सरिता गिरी अदालत जाने
संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्य र सांसदबाट समेत निष्कासन गर्ने निर्णय गरेपछि उनले कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएकी छिन्।
मंगलबार साँझ (८ बजे) हिमालसँगको टेलिफोन कुराकानीमा सांसद गिरीले भनिन्, “मलाई अहिलेसम्म निर्णय के हो भन्ने आधिकारिक जानकारी दिइएको छैन । तर समाचारहरूमा आए अनुसार नै हो भने अदालत जानेछु । पार्टीले अन्याय गर्याे, न्याय अदालतबाटै खोज्छु।”
उनी संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुन्।
सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्दा उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।
नेपालको संविधान संशोधनका लागि मतदान हुने दिन ३२ जेठमा उनले बोल्न खोज्दा सभामुखले समय नदिएपछि उनी बैठक छोडेर बाहिरिएकी थिइन्।
सामाजिक सञ्जालमा कतिपयले पार्टी निर्णयको विरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै यो निर्णय खेदजनक भएको भनेकी छिन् ।
उनको फेसबूक स्टाटसमा भनिएको छ, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र र निर्भिक ढंगले राखेकै आधारमा कारबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता विपरीत छ, पार्टीको निर्णय लोकतान्त्रिक मान्यता विपरीत छ, निर्णय फिर्ता लिन आग्रह गर्दछु।’
यसमा कमेन्ट गर्दै मानवअधिकारकर्मी कपिल श्रेष्ठले पनि सरिता गिरीविरुद्धको कारवाहीको विरोध गरेका छन् । कमेन्ट गर्ने अन्यले पनि पार्टीले निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।
उनलाई कारबाहीको सिफारिश गर्न गठित कार्यदलका सदस्य मोहम्मद इस्तियाक राईले गिरीलाई कारवाही गरिएको भन्दै भोलि संसदलाई संसदीय दलमार्फत जानकारी गराउने बताए।